Prakash Adhikari June 7, 2021

कुवेतसिटी(कुवेत), २४ जेठ। सन २०२२ मा कतारमा हुने विश्वकप फुटबल र २०२३ मा चीनमा हुने एशिया कपको छनोट अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोली आज राति जोर्डनसँग भिड्ने भएको छ ।

कोरोना महामारीका कारण संबन्धित टीमका घरेलु मैदानमा हुने खेल अहिले तटस्थ न्युट्रल भेन्यु मानिएको कुवेतमा भइरहेका छन् । छनोट चरणको समूह ‘बी’ मा रहेको नेपाल आज सातौं खेल्दै छ ।

खेल नेपाली समय अनुसार राति ९ः४५ बजे कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा सुरु हुनेछ ।

एसिया कपको लागि सिधै तेस्रो चरणको छनोटमा पुग्नका लागि नेपाललाई आज जित आवश्यक छ ।

जोर्डनाई पराजित गर्न नेपाललाई खेलाडीहरुको अथक मेहनत र भाग्यको भर पर्नुपर्ने हुन्छ किनकी फुटबलमा जोर्डन नेपालभन्दा बलियो छ । छनोटकै अवे खेलमा नेपाल जोर्डनसंग ३–० ले पराजित भएको थियो ।

नेपाली प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आइतबारको प्रिम्याच कन्फ्रेन्समा हरेक खेल ०–० बाट सुरु हुने र फुटबलमा सबै कुरा मिलेमा जुनकुनै टिमलाई पनि विजय हासिल गर्न सहज हुने बताउनुभएको थियो ।

यता जोर्डनका प्रशिक्षक भिटाल बोर्केल्मान्सले नेपाल विरुद्धको खेललाई लिएर आफ्ना खेलाडी सजग भएको बताउनुभएको छ । उहाँले नेपालले इराक र चाइनिज ताइपेई विरुद्ध राम्रो खेलेको प्रतिक्रिया दिनुभएको थियो ।

नेपालले विश्वकप छनोट चरणमै यसअघि जोर्डनको घरेलु मैदानमा भेट गर्दा नेपाल ३–० ले पराजित भएको थियो । ५५ मिनेटसम्म जोर्डनलाई बराबरीमा रोकेपनि पेनाल्टीमा गोल खाएपछि नेपालको मनोबल खस्किएको थियो । नेपाली पक्ष रक्षात्मक रहेकै बेला अन्तिम १२ मिनेटमा जोर्डनले थप दुई गोल गरेको थियो ।

फिफा वरियतामा जोर्डन ९५ औं र नेपाल १७१ औं स्थानमा छन् ।

समूहमा जोर्डन ५ खेलबाट १० अंक हासिल गर्दै दोस्रो स्थानमा छ भने ६ खेलबाट ६ अंक हासिल गरेर नेपाल चौथो स्थानमा छ । नेपालले अन्तिम स्थानको चाइनिज ताइपेईलाई दुई पटक पराजित गरेको थियो । हरेक समूहको चौथो र पाँचौ स्थानमा हुने टिमको नतिजा गणना नहुने भएकोले नेपाललाई जोर्डनविरुद्ध जित्नुपर्ने आवश्यकता छ ।

समूह ‘बी’ मा जोर्डन ५ खेलबाट १० अंकसहित तेस्रो स्थानमा छ । कुवेत ६ खेलबाट १० अंकसहित दोस्रो स्थानमा छ । अष्ट्रेलिया ५ खेलमा शतप्रतिशत जितसहित १५ अंक जोडेर शीर्ष स्थानमा छ र एसिया कप छनोट नजिक पुगिसकेको छ । त्यसैले कुवेत र जोर्डन समूहमा दोस्रो भएर एसिया कप छनोट हुने लक्ष्यमा छन् । नेपालले जोर्डनलाई पराजित गरेमा यसको फाइदा कुवेतलाई पनि हुनेछ ।

 

Share Now

Leave a comment.