धनगढी(कैलाली), २५ जेठ। संघीय सरकारमा सत्तामा रहेको नेकपा एमालेको अध्यक्ष के.पी. शर्मा ओली र जनता समाजवादी पार्टीका ठाकुर महतो पक्षले विस्थापन गर्न चाहेको सुदूरपश्चिम प्रदेशको नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गर्नुभएको छ ।
आज प्रदेश सभा बैठकमा उहाँले विश्वासको मतका लागि पेश गर्नुभएको प्रस्ताव प्रदेशसभाको बहुमतले पािरत भएको छ । प्रदेशसभामा भएको मतदानमा एमालेको माधव नेपाल पक्षले समर्थन गरेपछि भट्टको सरकारले विश्वासको मत पाएको हो ।
मतदानमा सरकारको पक्षमा ३० मत र विपक्षमा ९ भोटमात्रै परेको थियो ।
विपक्षमा एमालेको ओली पक्षका ७ जना र जनता समाजवादी पार्टीका दुईजनाले भोट हालेका थिए । कांग्रेसले मतदानमा भाग लिएन ।
बैठकमा ५१ जना सांसद उपस्थित भएका थिए । उनीहरूमध्ये १२ जना मतदानमा सहभागी नभएको सभामुख अर्जुनबहादुर थापाले जानकारी दिनुभयो ।
सुदूरपश्चिम सरकारलाई समर्थन गर्ने सवालमा एमाले संसदीय दल विभाजित भएको थियो । माधव नेपाल पक्षले बहुमतका आधारमा सरकारको समर्थनमा मत हाल्ने निर्णय लिए पनि ओली पक्षका सांसदहरुले केन्द्रको निर्देशन अनुसार विपक्षमा मतदान गर्नुभएको थियो ।


















