काठमाडौँ, २५ जेठ । मुलुकभरि पछिल्लो २४ घण्टामा ५ हजार १ सय ५३ जना कोभिड–१९ का सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको तथ्याङ्कमा १७ हजार ६ सय ७६ नमूना परीक्षणमा ५ हजार १ सय ५३ जनामा सङ्क्रमण पुष्टि भएको हो । तीमध्ये १२ हजार ६५ पिसिआर परीक्षण गर्दा ३ हजार ८ सय ७० र पाँच हजार ६ सय ११ एन्टिजेन परीक्षण गर्दा १ हजार २ सय ८३ जनामा सङ्क्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ५ लाख ९५ हजार ३ सय ६४ पुगेको छ । नेपालमा पिसिआर परीक्षण गरेकामध्ये सङ्क्रमण दर १८.८ प्रतिशत रहेको छ ।
यस्तै आज ६ हजार ५ सय ७० जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । नेपालमा निको हुने दर ८४.७ प्रतिशत रहेको छ । अहिलेसम्म निको भएर घर फर्किनेको सङ्ख्या ५ लाख ४ हजार ५ सय ३० पुगेको छ ।
१०८ जनाको निधन
मन्त्रालयका अनुसार विगत २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट १ सय ८ जनाको निधन भएको छ । योसँगै कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८ हजार ९८ पुगेको छ । नेपालमा प्रति १० लाखमा २ सय ७७.९ जनाको सङ्क्रमणका कारणले निधन हुने गरेको मन्त्रालयले जनाएको छ ।

१ हजार ३ सय २१ आइसियु र ३ सय ७२ भेन्टिलेटरमा
यसैगरी कोरोना भाइरस सङ्क्रमितमध्ये एक हजार ३ सय २१ जना सघन उपचार कक्ष (आइसियु) र ३ सय ७२ जना भेन्टिलेटरमा छन् । आइसियुमा प्रदेश नं. १ मा २ सय २, प्रदेश नं. २ मा ७२, वागमतीमा ७ सय ३८, गण्डकीमा १ सय १४, लुम्बिनीमा १सय ३७, कर्णालीमा ३४ र सुदूरपश्चिम प्रदेशमा २४ जना रहेका छन् ।
त्यस्तै भेन्टिलेटरमा प्रदेश नं. १ मा ३४, प्रदेश नं. २ मा २१, वागमतीमा २ सय ५४, गण्डकीमा २८, लुम्बिनीमा १९, कर्णालीमा ९ र सुदूरपश्चिम प्रदेशमा सात जना रहेका छन् ।
होम आइसोलेसनमा ७६ हजार ५ सय ५० र संस्थागत आइसोलेसनमा ६ हजार १ सय ८६ जना रहेका छन् ।


















