Prakash Adhikari June 9, 2021

काठमाडौं, २६ जेठ । वायुसेवा सञ्चालक संघ नेपालले १ असारबाट आन्तरिक हवाई उडान खोल्न माग गरेको छ।

संघले बुधबार एक विज्ञप्तिमार्फत विमान कम्पनी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी उडान गर्न प्रतिबद्ध रहेकाले खोल्नुपर्ने माग गरेको हो।

“दोस्रो लहर अगाडि हवाई उडानबाट आउजाउ गर्ने सबै यात्रु संक्रमणरहित थिए,” विज्ञप्तिमा भनिएको छ, “कोभिडविरुद्ध तालीमप्राप्त जनशक्ति तथा उडानपूर्व जहाजको संक्रमणरहित सरसफाई, मास्क तथा फेशसिल्डको अनिवार्य प्रयोगले यो सम्भव भएको हो।”

लामो दूरी पनि छोटो समयमै पुग्न सकिने, विश्व स्वास्थ्य संगठन र सरकारले तोकेको मापदण्ड पूर्णपालना हुने भएकोले उडान खोल्नुपर्ने संघले बताएको छ।

वायुसेवा संघले गत वर्षको बन्दाबन्दी जस्तै यो वर्ष पनि निषेधाज्ञा अवधिभर ल्याण्डिङ पार्किङ तथा अन्य शूल्कमा ७५ प्रतिशत छुटको व्यवस्था गर्न पनि माग गरेको छ।

अन्तर्राष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्य कटौतीलाई पनि संघले स्वागत गरेको छ। नेपाल आयल निगमले २३ जेठमा अन्तर्राष्ट्रिय हवाई उडानतर्फको मूल्यमा २० प्रतिशत कटौती गरेको थियो।

संघले आन्तरिक हवाई उडानमा प्रयोग हुने इन्धनको मूल्य घटाउन पनि अनुरोध गरेको छ।

Share Now

Leave a comment.