अन्तत: गण्डकीका मुख्यमन्त्रीमा कांग्रेस प्रदेशसभा संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त
पोखरा(कास्की), २९ जेठ । अन्ततः गण्डकी प्रदेशकी प्रमुख सीता पौडेलले प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई नियुुक्त गर्नुभएको छ ।
उहाँलाई संविधानको धारा १६८(५) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो ।
प्रदेश प्रमुखले हिजो सो धारा अन्तरगत बहुमत जुटाउने आधारसहित मुख्य मन्त्रीमा दावी पेश गर्न प्रदेशसभाका सांसदहरुलाई आह्वान गर्नुभएको थियो ।
विपक्षी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका प्रदेशसभा संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आफ्नो पार्टीसहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एकजना स्वतन्त्र सांसदका तर्फबाट दावी पेश गर्नुभएको थियो ।
उहाँको पक्षमा नेपाली कांग्रेसका १५ जना, नेकपा माओवादी केन्द्र ११,जनता समाजवादीका २ जना र राष्ट्रिय जनमोर्चाका २ र स्वतन्त्र सांसदले हस्ताक्षर गर्नुभएको थियो ।
प्रदेश प्रमुखले निर्धारण गरेको अन्तिम समयरेखा पहिले २७ गते आफ्नो पक्ष्मा समर्थन जुटाउन नसक्नुभएका कामचलाउ मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुड.ले पनि दावी गर्नुभएको सूचना सार्वजनिक भएको थियो । तर प्रदेश प्रमुखको कार्यालयले भने नेपाली कांग्रेसका प्रदेशसभा संसदीय दलका नेता पोखरेल मात्र एक्ला उम्मेदवार रहेको जनाएको छ ।

कार्यालयले प्रेस विज्ञप्ती जारी गर्दै प्रदेश प्रमुखले शनिबार दिउँसो ३ बजेसम्मको समय दिएर आह्वान गरिएको समयमा पोखरेलको मात्रै दाबी परेको जनाएको हो ।
सोही अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरिएको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
प्रदेश प्रमुखको कार्यालयले भने गुरुङको दाबीबारे केही उल्लेख गरेको छैन।


















