काठमाडौं, २९ जेठ । नेपालमा कोरोना भाइरसको प्रकोप विस्तारै ओरालो लाग्न थालेको पाइएको छ । विगत २४ घण्टामा यो घातक भाइरसको संक्रमणमा पर्ने भन्दा यसबाट मुक्त हुनेहरुको संख्या दोब्बर देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ३ हजार ३ सय ८४ कोरोनाभाइरसका सङ्क्रमितहरू थपिएका छन्। सोही अवधिमा ६ हजार २ सय ९५ जना सङ्क्रमण मुक्त भएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोही अवधिमा मृत्यु हुनेको सङ्ख्या ६१ रहेको जनाएको छ।
नेपालमा हालसम्म पुष्टि भएका कोभिड बिरामीको सङ्ख्या ६ लाख २२ हजार हाराहारीमा छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या ७५ हजारभन्दा केही बढी छ।
त्यस्तै कुल मृत्यु हुनेको सङ्ख्या ८ हजार तीन सय नाघेको छ।
मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत २४ घण्टामा कुल १४ हजार ४ सय ९४ जनाको परीक्ष गरिएको थियो। ती मध्ये ८ हजार ५ सय ६ जनाको पीसीआर र ५ हजार ९ सय ८८ जनाको एन्टिजन विधिबाट परीक्षण गरिएको थियो ।
पछिल्लो समय कोभिड हुनेहरूमध्ये सबभन्दा धेरै उमेर समूह २१ देखि ४० वर्षको रहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ।
नेपालमा निको हुने दर ८६.९ प्रतिशत छ भने मृत्यु दर १.६ प्रतिशत रहेको छ।
त्यसैगरी कुल सङ्क्रमितमध्ये महिला ४० प्रतिशत जति र पुरुष ६० प्रतिशत जति रहेका छन्।
हाल आइसीयूमा रहेका विरामीको सङ्ख्या १ हजार १ सय ८९ रहेको छ भने भेन्टिलेटरमा ३ सय ६६ जना रहेको मन्त्रालयको तथ्याङ्क छ।


















