Prakash Adhikari June 16, 2021

काठमाडौंं, २ आषाढ । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई थप उपचारका लागि भारत लगिने भएको छ ।

थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचार गराइरहनुभएका नेता खनालको थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित एपोलो अस्पताल लान लागिएको हो ।

उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले आज दिउँसो उपचारका लागि नयाँ दिल्ली लैजान थालेको जानकारी दिनुभयो । नर्भिक अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोताले पहिलेदेखि नै उहाँलाई एपोलोमा देखाइरहेकाले पारिवारिक र चिकित्सकको सल्लाहमा थप उपचारका लागि लान लागिएको बताउनुभयो ।

पार्टी मिलाउन अनुरोध

थप उपचारका लागि भारतको नयाँ दिल्ली जानुअघि नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई एकताबद्ध बनाउन महासचिव ईश्वर पोखरेललाई आग्रह गर्नुभएको छ ।

थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनाललाई आज महासचिव पोखरेलले भेट गर्नुभएको थियो ।

‘‘पार्टी मिलाउनुस् कमरेड..’’ भनी नेता खनालले महासचिव पोखरेललाई आग्रह गर्नुभएको महासचिवका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिनुभयो ।

एमालेभित्रको विवाद मिलाउन दोस्रो तहका नेताहरु सक्रिय रहेका बेला उच्च नेताबीचमा पनि अनौपचारिक संवाद भइरहेको छ तर निकास निस्किसकेको छैन ।

नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको तथा ज्वरोसँगै स्वास्थ्यमा थकान महसुस हुने, श्वास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि उहाँलाई गत जेठ ३१ गते अस्पताल भर्ना गरिएको थियो ।

केही महिनाअघि नेता खनाल कोभिड–१९ सङ्क्रमणमुक्त हुनुभएको थियो ।

 

 

 

Share Now

Leave a comment.