काठमाडौं, ३ आषाढ । प्रधानमन्त्री के.पी.शर्मा ओलीका गैरसंवैधानिक र प्रतिगामी कदमहरुको विरोधमा एक ठाँउमा उभिएका पाँच राजनीतिक दलका नेताहरुले नेपालमा मनसुन सुरुभएपछि नियमित रुपमा आउने बाढी र पहिरोको व्यवस्थापनमा पर्याप्त ध्यान नदिएको भन्दै सरकारको आलोचना गर्नुभएको छ ।
बिहिबार दिउँसो एक संयुक्त वक्तव्य प्रकाशित गर्दैं उहाँहरुले भन्नुभएको छ,”सरकार उक्त प्रकारको प्राकृतिक विपत्तिको सामना गर्ने कुनै पूर्व तयारी नगरी गैर जिम्मेवार रहेको देखिएको छ ।”

नेपाली कांग्रेसका सभापति,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलद्धारा हस्ताक्षरित वक्तव्यमा भनिएको छ, “मनसुन वर्षाको आरम्भमा नै देशका अधिकांश जिल्लाहरुमा बाढी र पहिरोको प्रकोप देखिएको छ । यसको कारण कतिपय मानिसहरुको ज्यान गएको छ भने अर्बौ रुपैयाँ बराबर भौतिक संरचना, अन्नबाली र पशुचौपाया नष्ट भएका छन् । फलस्वरुप कोरोना महामारीबाट आक्रान्त जनजीवन झनै कष्टकर बनेको छ । बाढी र पहिरोमा परि ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं ।”
पाँच दलका नेताहरुले बाढी, पहिरो र डुबानबाट जनताको सुरक्षा गर्न, पीडित जनता र विस्थापितहरुका लागि तत्काल आवास, खाद्यान्न, मृतकका परिवारलाई सहयोग, घाइतेहरुको उपचार लगायतका उद्धार र राहतका काम प्रभावकारी रुपमा अगाडि बढाउन हामी नेपाल सरकारसंग माग गर्नुभएको छ।
उहाँहरुले इमान्दारी, तदारुकता र पारदर्शीरुपमा राज्यका सम्बन्धित सबै निकाय तथा साधन र स्रोतको पूर्ण परिचालन गरी विपद् व्यवस्थापनको कार्यलाई अघि बढाउन आग्रह पनि गर्नुभएको छ।
नेताहरुद्धारा यस्तो गम्भीर प्राकृतिक विपत्तिको समयमा उद्धार र राहतका क्रियाकलापमा आ–आफ्ना स्थानबाट योगदान गरी पीडित जनसमुदायलाई सहयोग पु¥याउन सम्पूर्ण पार्टी कार्यकर्ता तथा संघसंस्थाहरुलाई आह्वान पनि गर्नुभएको छ ।


















