काठमाडौं, ४ आषाढ । कोरोनाभाइरस महामारीको दोस्रो लहर फैलिएको बेला खाडीका विभिन्न देश र मलेशियामा अलपत्र परेका नेपाली कामदारलाई स्वदेश फर्काउने काम अर्को हप्ताबाट सुरु गर्न लागिएको छ ।
कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रका प्रमुख बालानन्द शर्माका अनुसार कोभिड १९ व्यवस्थापन निर्देशक समितिको बैठकले यस सम्बन्धी निर्णय गरेर मन्त्रिपरिषद्मा पठाइसकेको छ । त्यहाँबाट अनुमोदन गरेलगत्तै सातामा २ हजार यात्रुभन्दा नबढ्नेगरी हवाई उडान सञ्चालन गरिनेछ।
शर्माका अनुसार सबै पक्षसँग समन्वय गरेर कामदारहरूलाई स्वदेश फर्काउने व्यवस्था प्रस्ताव गरिएको तथा अहिलेको निषेधाज्ञाको ढाँचालाई केही खुकुलो बनाउने तयारी भइरहेको छ।
यसअघि नेपालले चार्टर्ड उडानलाई मात्रै अनुमति दिँदा श्रम गन्तव्य देशहरूमा रोजगारीको अवधि सकिएका वा अरू विभिन्न कारणले अलपत्र परेका कामदारलाई स्वदेश फर्किन गाह्रो भएका विवरणहरू आएका थिए।
दुई साताअघि नेपालको नागरिक उड्डयन मन्त्रालयले चीन, कतार र टर्कीका विमानसेवालाई साताको एउटा उडानलाई अनुमति दिने निर्णय गरेको थियो। भारतसँग भने ुएअर बबलु व्यवस्थाअन्तर्गत उडानहरू भइरहेका छन्।
यी देशका कामदारलाई लाभ
सीसीएमसीका प्रमुख शर्माका अनुसार मुख्यतः खाडी क्षेत्र र मलेशियामा रहेका नेपाली कामदारलाई लक्षित गर्दै यो निर्णय गरिएको हो।
निर्देशक समितिको निर्णयमा नेपाली श्रमिकहरू अधिक सङ्ख्यामा रहेका कतार, साउदी अरब, टर्की, यूएई, जापान र मलेशियाजस्ता देशमा हवाई उडान पुनः सञ्चालन गर्ने उल्लेख छ।
ती देशबाट सातामा अधिकतम २ हजार यात्रु ल्याउनेगरी उडान हुने भनिएको छ।

त्रिभुवन विमानस्थल
नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले उडानको सङ्ख्यामा वृद्धि हुनेबित्तिकै त्यसले श्रम गन्तव्यसँग जोडिएका यात्रुका सबालमा महत्त्वपूर्ण परिवर्तन गर्ने बताउनुभयो।
“अहिले टर्की र कतारमा उडान भइरहेको भए पनि हाम्रो श्रमिकहरूसँग जोडिएका अन्य देशमा उडान भइरहेका छैन। मैले जानकारी पाएअनुसार हामीलाई साउदी अरब र मलेशियामा उडान गर्न कुनै समस्या छैन। त्यहाँ उडानहरू नियमित हुनेबित्तिकै धेरै सहज हुन्छ।”
उहाँले कोरोनाभाइरसको दोस्रो लहर देखाउँदै दुबईले नेपालबाट उडानको अनुमति नदिएको जानकारी दिनुभयो। दक्षिण कोरियामा अहिले पनि चार्टर्ड उडान भइरहेको उल्लेख गर्दै उहाँले नियमित उडान नभएको बताउनुभयो। नेपाल वायुसेवा निगमबाट हुने जापानको उडान पनि केही अवरुद्ध छ।
कार्यान्वयनको समय
नागरिक उड्डयन प्राधिकरण, पर्यटन मन्त्रालय र होटेल व्यवसायीहरू सबैसँग समन्वय गरी प्रस्ताव तयार गरिएको भन्दै सीसीएमसी प्रमुख शर्माले मन्त्रिपरिषद्ले अनुमोदन गर्नेबित्तिकै यसको कार्यान्वयन हुने बताउनुभएको छ।

त्रिभुवन विमानस्थल
पर्यटन मन्त्रालयको नागरिक उड्डयन महाशाखाका प्रमुख बुद्धिसागर लामिछानेले आफूहरूले पनि क्रमशः अन्तर्राष्ट्रिय उडानहरू बढाउनुपर्ने धारणा राखिरहेको भन्दै सीसीएमसीको निर्णय मन्त्रालयमा आएपछि त्यसलाई हेरेर मन्त्रिपरिषद्मा पठाइने उल्लेख गर्नुभयो।
कैयौँ कामदारहरू रोजगारी गुमाएर बेखर्ची भएर बसिरहेका जानकारी पाएको भन्दै आफूले यसलाई अर्को हप्ताबाट कार्यान्वयनमा ल्याउन आफूहरूले सुझाव दिएको शर्माको भनाइ छ।
कति कामदारले स्वदेश फर्किने इच्छा देखाएका छन् भन्ने अझै स्पष्ट छैन। तर सीसीएमसीका प्रमुख शर्माका अनुसार अहिले ५ सय कामदारले आफैँ खर्च व्यवस्थापन गरेर घर फर्किने इच्छा देखाएका छन् भने करिब १ हजार ५ सय जनाको भाडा र अन्य खर्च राज्यले बेहोर्नुपर्ने अवस्था छ।
त्यस्तो खर्च वैदेशिक रोजगार बोर्डअन्तर्गत रहेको कल्याणकारी कोषबाट गर्न सकिने बताइएको छ।
वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले नेपाली श्रमिक रहेका देशका नियोगमा उद्धार गर्नुपर्ने कामदारको विवरण र तथ्याङ्क सङ्कलन गर्न अनुरोध गरिएको बताउनुभयो।
श्रम मामिलाबारे अनुसन्धान गर्ने सेन्टर फर द स्टडी अफ लेबर मोबिलिटीका अनुसन्धान संयोजक अर्जुन खरेलका अनुसार गन्तव्य देशहरूमा पहिलो लहरको महामारीमा जस्तो कठिन परिस्थिति नरहेकाले अहिले उद्धार पर्खिरहेका कामदारहरूको सङ्ख्या सानो हुनसक्छ।
होटेल क्वारन्टाइन र घरफिर्तीको व्यवस्था
सीसीएमसीको निर्देशक समितिले विभिन्न कारणले खर्च बेहोर्न नसक्ने कामदारका लागि होटेल क्वारन्टाइन लागि सहयोग रकम उपलब्ध गराउने निर्णय पनि गरेको अधिकारीहरूले बताएका छन्।
कुल १५ दिन क्वारन्टाइन बस्नुपर्ने र त्यसमध्ये १० दिनको खर्च राज्यले उपलब्ध गराउने भनिएको छ।

त्रिभुवन विमानस्थल
यसअघि खाडी देश र मलेशियाबाट फर्किएका कामदारहरूले पाँच दिन होटेल क्वारन्टाइनमा बसेर कोभिड नभएको रिपोर्ट बुझाएर घर जान सक्ने उल्लेख गरिएको थियो।
सीसीएमसी प्रमुख शर्माले कोभिड परीक्षणको शुल्क र घर जानका लागि जिल्ला सदरमुकामसम्म यातायातको व्यवस्था पनि सरकारले गर्ने उल्लेख गर्नुभएको छ।
‘स्मार्ट लकडाउन’ अन्तर्गत सङ्क्रमणको दर घट्दै गए बिस्तारै कुल सवारीसाधनमध्ये एकतिहाइलाई सञ्चालन गर्न दिनेसहितका विकल्प पनि सीसीएमसीले विचार गरिरहेको शर्माको भनाइ छ।
बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले मन्त्रीस्तरीय निर्णयानुसार द्रुत प्रतिकार्य टोली गठन भएको र उद्धार गरिनुपर्ने कामदारहरूका लागि खटिन सरकारी संयन्त्र तयार भएर बसेको बताउनुभएको छ।
नेपाली श्रमिक कहाँ धेरै छन् ?
कोरोनाभाइरसको महामारी देखा पर्नुअघि दैनिक रूपमा १ हजार ५ सय को हाराहारी नेपालीहरू वैदेशिक रोजगारीमा जाने गरेका थिए।
तर त्यसपछि उक्त सङ्ख्या आधाभन्दा बढीले घटेको छ।
हाल वैदेशिक रोजगारीमा भएका अधिकांश नेपाली मलेशिया, कतार, यूएई, साउदी अरब र कुवेतमा कार्यरत छन्।
सन् २००९ यता वैदेशिक रोजगारीका लागि ४० लाख जनाभन्दा बढीलाई श्रम स्वकृति दिइएको विभिन्न तथ्याङ्कले देखाउँछ।


















