Prakash Adhikari June 18, 2021

पोखरा(कास्की), ४ आषाढ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभाबाट विश्वासको मत पाउनुभएको छ ।

प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुड.ले संविधानको धारा १६८(३) अनुसार गठन गर्नुभएको सरकारले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि संविधानको धारा १६८(५) अनुसार प्रदेससभामा प्रतिनिधित्व गर्ने दलका सांसदहरुको तर्फबाट प्रदेशसभामा बहुमतका सरकार बनाउने आधार सहित मुख्यमन्त्रीमा दावी पेश गर्नुभएका पोखरेललाई प्रदेश प्रमुख सीता पौडेलले जेठ २९ गते मुख्यमन्त्री नियुक्त गरी सपथ गराउनुभएको थियो ।

माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङेको समेत समर्थन पाउनु भएका नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेलले प्रदेश सभामा ३१ मत प्राप्त गर्नुभएको थियो ।

यसअघि तिनै ३१ जनाको समर्थनमा उहाँ गएको जेठ २९ गते गण्डकी प्रदेशको मुख्यमन्त्री बन्नुभएको थियो ।

बहुमतका आधारमा मुख्यमन्त्री चुनिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री पोखरेलले आज प्रदेश सभाबाट विश्वासको मत लिनुभएको हो ।

मुख्यमन्त्री पोखरेलको प्रस्ताव र जिकिर

यस अगाडि मुख्यमन्त्री पोखरेलले प्रदेशसभाको आजको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

आफूलाई विश्वासको मत प्रदान गर्न प्रदेशसभा सदस्यहरूसँग आग्रह गर्दै उहाँले सरकार गठन भएको एक हप्ता पनि नपुगेका अवस्थामा संवैधानिक एवम् कानूनी व्यवस्था समेतका आधारमा नीति तथा कार्यक्रम एवम् बजेट ल्याइएको बताउनुभयो ।

सरकारले नीति तथा कार्यक्रम एवम् बजेटमा प्रदेशभित्रका समूर्ण नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखेको बताउँदै उहाँले कोरोनाको रोकथाम र नियन्त्रणका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउने बताउनुभयो ।

उहाँले महिलाले भोग्ने गरेको प्रमुख समस्या स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सरको शल्यक्रिया गर्ने क्रममा लाग्ने खर्च निःशुल्क गर्न सरकारले प्रतिवद्धता व्यक्त गरेको उहाँले बताउनुभयो । त्यस्तै दुर्गम क्षेत्रमा जटिल अवस्थामा रहेका गर्भवती, सुत्केरी, नवजात शिशुलाई उद्धार गरी सुविधासम्पन्न अस्पतालसम्म पु¥याउने कुरामा पनि सरकारले प्रतिबद्धता व्यक्त गरेको उहाँले बताउनुभयो ।

उहाँले शिक्षा, स्वास्थ्यलगायत हरेक क्षेत्रको विकासलाई लक्षित गर्दै सरकार अघि बढेको मुख्यमन्त्री नेपालीले बताउनुभयो ।

सरकारले जनअपेक्षानुसारका कामलाई अघि बढाएको उल्लेख गर्दै उहाँले राजनीतिक स्थिरता कायम गर्दै प्रदेशसभालाई विघटनको दुर्घटनाबाट बचाउनका लागि पनि आफू नेतृत्वको सरकारलाई विश्वासको मत दिन आग्रह गर्नुभयो ।

Share Now

Leave a comment.