काठमाडौं, ११ आषाढ । नेपालमा थप २ हजार ४ सय ७६ जनामा कोरोनाभाइरस सङ्क्रमण र २७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार बताएको छ।
पछिल्लो २४ घण्टामा १४ हजार ३ सय ५१ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ। तीमध्ये ४ हजार ७ सय ६५ परीक्षण एन्टिजन विधिबाट गरिएको हो।
कुल परीक्षणको १७.२५ प्रतिशतमा सङ्क्रमण देखिएको हो।
सो अवधिमा ५ हजार ४ सय ५५ जना सङ्क्रमणमुक्त भएपछि निको भएका सङ्क्रमित ९१.३३ प्रतिशत पुगेका छन्।
यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या झन्डै ६ लाख ६१ हजार पुगेको छ भने मृतकको सङ्ख्या ८ हजार ९ सय ४५ पुगेको छ।
अहिले कुल ४२ हजार ९ सय १० जनामा सक्रिय सङ्क्रमण रहेको र तीमध्ये २ हजार ८ सय ८४ जना संस्थागत आइसोलेशनमा रहेका छन्।
कुल सक्रिय सङ्क्रमितमध्ये ८ हजार ६ सय १६ जना काठमाडौं उपत्यकामा रहेका छन्।
अहिले देशभरिका ३१ जिल्लामा ५ सय भन्दाबढी सक्रिय सङ्क्रमित छन् भने थप २४ जिल्लामा २ सय भन्दाबढी सक्रिय सङ्क्रमित रहेका छन्।
अहिले सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाडौं उपत्यकाका धेरै भएको तथ्याङ्कले देखाउँछ।
मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिले ७ सय १४ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र २ सय १ जना भेन्टिलेटरमा छन्।
लिङ्गका आधारमा हेर्दा कोभिडबाट सङ्क्रमित हुनेहरूमा ३९.२५ प्रतिशत महिला छन् भने ६०.७५ प्रतिशत पुरुष छन्।
के छ भारतको स्थिति ?
भारत सरकारका अनुसार अहिलेसम्म ३ करोडभन्दा बढी मानिसमा कोभिड पुष्टि भइसकेको छ।
नेपालसँग सीमा जोडिएको भारत कोरोनाभाइरसबाट अतिप्रभावित देशको सूचीमा अमेरिकापछि दोस्रो स्थानमा छ।
त्यहाँ कोभिडबाट मृत्यु हुने मानिसको सङ्ख्या ३ लाख ९३ हजार नाघेको छ। तर केही सातादेखि दैनिक पुष्टि हुने सङ्क्रमितको सङ्ख्या घटेको देखिन्छ।
सबैभन्दा बढी सङ्क्रमित महाराष्ट्र राज्यमा छन् जहाँ ६० लाख ७ हजार जनाभन्दा बढी सङ्क्रमित छन्।
नेपालसँग जोडिएका राज्यमध्ये उत्तर प्रदेशमा १७ लाख ५ हजार, पश्चिम बङ्गालमा १४ लाख ८९ हजार, बिहारमा ७ लाख २० हजार र उत्तराखण्डमा ३ लाख ३९ हजारभन्दा केही बढी मानिस कोभिडबाट पीडित छन्।
भारतमा शुक्रवार बिहानसम्मको तथ्याङ्क
- निकोः २,९१,२८,२६७ (९६.६%)
- सक्रिय सङ्क्रमणः ६,१२,८६८ (२.०३%)
- मृत्युः ३,९३,३१० (१.३०%) (बीबीसीबाट)


















