Prakash Adhikari June 27, 2021

केही दशक पहिलेसम्म लगातार हप्तादिनसम्म झरी पर्दा पनि पहिरो र बाढी थेग्ने नेपालको जमिन अहिले एक दर्को पानी नथेग्ने भएको छ । दुईचार घण्टा पानी पर्न पाएको हुँदैन, पाखापखेराबाट पहिरो झर्न थाल्छ, नदी थुनिन्छन, थुनिएको नदी खुल्दा अनपेक्षित बाढी आउछ , बस्ती बगाउछ । शहर र बजारमा आकाशे पानी सोस्ने जमिन ढलान र पिचले पुरिएको छ । आकाशबाट बर्षेको पानी जमीनलाई छोएर खोलामा जाने प्रवृत्तिले बाढी र डुबानको समस्या निम्तिएको छ । विगत केही बर्षदेखि नेपालमा बढेको बाढी,पहिरो र डुबानको समस्याबारे बीबीसी न्यूज नेपालीका विष्णु पोखरेलको रिर्पोटिड.: 

काठमाडौं, १३ आषाढ ।  विगत केही वर्षदेखि नेपालमा मनसुनका बेला बाढीपहिरोको प्रकोप पहिलेको तुलनामा केही बढी देखिएको सरकारी विवरणहरूले देखाएका छन्।

त्यस्ता विवरणहरूको विश्लेषण गरेर कतिपय विज्ञहरूले नेपालमा २०७२ सालको भूकम्पपछि मनसुनका बेला बाढीपहिरोको प्रकोप बढेको बताउँदै आएका छन्।

त्यसभन्दा भिन्न मत राख्ने विज्ञहरू चाहिँ भूकम्पभन्दा पनि मानवीय गतिविधि र जलवायु परिवर्तनका असरले त्यस्तो हुन गएको बताउँछन्।

पछिल्ला वर्षहरूमा नेपालमा बढ्दो मनसुनी बाढीपहिरोको प्रकोपको मुख्य कारण के हो त ?

बाढीपहिरो र मनसुनमा हुने वर्षासम्बन्धी सरकारी तथ्यांकका आधारमा विज्ञहरुले भनाई र निष्कर्ष यस्ता छन् :

बाढीपहिरोका घटना कति ?

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको विवरणअनुसार बाढीपहिरोका कारण विगत १० वर्षमा झन्डै २ हजार जनाको मृत्यु भएको छ भने ७२ हजारभन्दाबढी घरपरिवार प्रभावित भएका छन्।

त्यस अवधिमा बाढीपहिरोकै कारण १८ अर्ब भन्दा बढीको क्षति भएको विवरण केन्द्रले राखेको छ।

उक्त अवधिमा पहिरोका मात्र २ हजार ८ घटना भएका छन् भने १ हजार ५३ जनाको पहिरोका कारण निधन भएको छ।

पहिरोले विगत १० वर्षमा ७ हजार भन्दा बढी घरपरिवारलाई प्रभावित पारेको छ।

केन्द्रको विवरणमा २०७२ सालयता पहिलेको तुलनामा पहिरोका घटनामा वृद्धि हुँदै गएको देखिन्छ।

नेपालमा पहिरो. विगत १० वर्षका घटना विवरण. .
भूकम्पको प्रभाव कति ?

२०७२ सालको भूकम्पपछिका वर्षहरूमा विशेषगरी पहिरोका घटनामा वृद्धि हुनुलाई कैयौँले भूकम्पले थिलथिलो बनाएको क्षेत्रमा वर्षाको पानी पस्दा पहिरो बढेको बताउने गरेका छन्।

त्यसबारे सरकारी तवरबाट हालसम्म विस्तृत अध्ययन नगरिएको अधिकारीहरूले बताए।

यद्यपि स्वदेशी र विदेशी विज्ञहरूले गरेका अनुसन्धानलाई आधार मानेर आफूहरू पनि “उक्त निर्क्योलमा सहमत बनेको” खानी तथा भूगर्भ विभागका अधिकारीको भनाइ छ।

विभागका सिनियर डिभिजनल जियोलोजिस्ट शिवकुमार बास्कोटा भन्नुहुन्छ, “हामीले आफैँले विस्तृत अध्ययन गरेका छैनौँ तर अरुकै अध्ययनका आधारमा पनि हामी केमा सहमत छौँ भने भूकम्पकै प्रभावले पहिरोको क्रम चाहिँ बढिरहेको छ। अझै पनि त्यसको प्रभाव शून्य वा घटेको छ भन्ने होइन।”

भूकम्पपछि पहिरो बढ्नुको कारणका रूपमा जमिनमा चिरा पर्नु, पृथ्वीको तल्लो भागमा रहेका चट्टानका चिराहरू फैलनु र भूकम्पले जमिनलाई थिलथिलो बनाउनाले पहिरो र पहिरोको कारण बाढी आएको उहाँ बताउनुहुन्छ ।

ूचट्टानहरूमा प्राकृतिक रूपमै चिराहरू हुन्छन्, भूकम्पले ती चिराहरूलाई फैलाइदिएको छ। वर्षामा पानी पर्दा ती चिराहरूमा पानी पस्छ र त्यसले गर्दा चट्टानै चिप्लिएर पहिरो जाने गर्छ,ू उहाँले भन्नुभयो।

पहिरो

पहिरो

उहाँका भनाइमा भूकम्पपछि अझै पनि त्यसबाट अति प्रभावित १४ जिल्लामा पहिरोको प्रभाव कम भइसकेको छैन।

विपद्को पूर्वतयारी र प्रतिकार्यका लागि काम गर्ने सरकारी निकायका अधिकारीका अनुसार ूभूकम्पका कारण जोखिम बढेकोू भन्ने आकलनका आधारमा त्यस्ता क्षेत्रलाई लक्षित योजनाहरू बनाइएका छन्।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्राविधिक उपसचिव राजेन्द्र शर्माका भनाइमा ‘भूकम्पले प्रभावित जिल्लाहरू बढी जोखिममा ‘ देखिएका छन्।

शर्माले सरकारले भूकम्प प्रभावित जिल्लाहरूलाई ध्यानमा राखेर नै पहिरो जोखिम अध्ययन सुरु गरेको बताउँनुभएको छ।

यस वर्षका लागि ‘नमुना परियोजना’ का रूपमा नौ जिल्लाका ३६ वटा पालिकाहरूमा त्यस्तो जोखिमको दैनिक सूचना दिने कार्य सुरु गरिएको छ।

उहाँका अनुसार पहिरोको जोखिमको मूल्याङ्कन खानी तथा भूगर्भ विभाग र ब्रिटेनस्थित डरहम विश्वविद्यालयका भूगर्भशास्त्रीको अध्ययनका आधारमा गरिएको हो।

त्यसका लागि कैयौँ भू-उपग्रह नक्सालगायतको उपयोग गरिएको उहाँले जानकारी दिनुभयो ।

बाढी

बाढी

जलवायुको प्रभाव
सरकारले विशेषगरी पहिरोको जोखिम मूल्याङ्कनमा भूकम्पलाई मुख्य आधार बनाइरहेका बेला कैयौँ भूगर्भशास्त्रीहरूले जलवायुको प्रभावलाई वेबास्ता गर्न नमिल्ने बताउने गरेका छन्।

बीबीसीको आग्रहमा जल तथा मौसम विज्ञान विभागका मौसमविद्ले भूकम्प प्रभावित र विगत पाँच वर्षमा धेरै पहिरो गएकामध्ये ११ जिल्लामा मनसुनका बेला हुने वर्षाको विश्लेषण गरेका थिए।

ताप्लेजुङ, इलाम, सङ्खुवासभा, खोटाङ, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, कास्की, गोर्खा र लमजुङ जिल्लाका विभिन्न वर्षा मापन केन्द्रहरूको विवरणका आधारमा उक्त विश्लेषण गरिएको थियो।

सन् १९९१ यताको वर्षाको तुलनात्मक रूपमा गरिएको विश्लेषणले पछिल्ला वर्षहरूमा पानी पर्ने प्रवृत्तिमा रोचक परिवर्तन देखाएको छ।

विभागको जलवायु विश्लेषण शाखा प्रमुख डा. इन्दिरा कँडेलका अनुसार ‘ती जिल्लाहरूमध्ये धेरैमा पछिल्लो पाँच वर्षमा मनसुनका बेलामा हुने औसत वर्षा र ५० मिलिमिटरभन्दा बढी पानी परेका दिनहरूमा वृद्धि भएको’ देखिन्छ।

तर सँगसँगै ५० मिलिमिटरभन्दा बढी लगातार दुई दिन वा त्यसभन्दा बढी पानी पर्ने प्रवृत्ति कम भएको देखिएको छ।

त्यसको अर्थ नेपालमा बाढी पहिरो बढिरहेका क्षेत्रमा एकै पटक मुसलधारे पानी पर्ने प्रवृत्ति बढेको छ भने मनसुनका बेला झमझम लामो समय पानी पर्ने प्रवृत्तिमा कमी आइरहेको छ।

वर्षाका कारण भोजपुरमा क्षतिग्रस्त घर

वर्षाका कारण भोजपुरमा क्षतिग्रस्त घर

मौसमविद्का भनाइमा वर्षा हुने प्रवृत्तिमा देखिएका ती परिवर्तनहरू पनि पहिरो निम्त्याउने प्रमुख कारण हुन सक्छन्।

ूझमझम पानी नपर्नु भनेको चाहिँ सोसेर जाने क्रम कम हुनु हो। ह्वार्र पानी परेपछि बिस्तारै सोसेर जाने अवस्था हुँदैन, त्यसले गर्दा एक्कासि भल बढ्छ र त्यसले भिरालो जमिनमा पहिरो जाने तथा साना खोल्साहरूमा खहरे बाढी आउने अनि वरपर पहिरो निम्तिने खतरा बढ्छ,ू कँडेलले भन्नुभयो।

शहरी इलाकामा पनि त्यस्तो पानी पर्दा सोसेर जाने ठाउँ नहुँदा डुबान उत्पन्न हुने गरेको कँडेल बताउँनुहुन्छ।

उहाँका अनुसार ५० मिलिमिटरभन्दा बढी मात्रामा लगातार दुई दिन वा त्यसभन्दा बढी पानी पर्ने क्रमलाई पनि बाढीपहिरोको जोखिमका रूपमा लिने गरिन्छ।

गोर्खा, कास्की र सिन्धुपाल्चोक जिल्लामा औसत वर्षा. गत ३० वर्ष, १० वर्ष र ५ वर्षको औसत वर्षा. भूकम्प धैरै प्रभावित र तुलनात्मक रूपमा भूकम्पयता पहिरो जाने सङ्ख्यामा वृद्धि भएका मध्येका तीन जिल्लाका मौसम केन्द्रहरूमा रेकर्ड भएको औसत वर्षाको विवरण। .

 

मुख्य कारण नै मानवीय गतिविधि

कतिपय भूगर्भशास्त्रीका भनाइमा पछिल्ला वर्षहरूमा विशेषगरी बाढीपहिरोका घटना बढ्नुमा मानवीय कारण मुख्य दोषी देखिएको छ।

उनीहरूका अनुसार समथर स्थानमा बाढी र डुबान देखिनुमा नदी वा पानी बग्ने क्षेत्रहरूको अतिक्रमण मुख्य कारण रहेको देखिएको छ।

पहाडमा पहिरो जानुमा चाहिँ जथाभाबी मेसिन चलाएर बाटो खन्ने प्रवृत्ति मुख्य कारण बनेको छ।

एस्काभेटर

एस्काभेटर

त्यस्तै तर्क गर्ने र २०७२ सालको भूकम्पले अहिलेसम्म पहिरो निम्त्याएको होइन भन्ने मान्यता राख्नेमध्येमा पर्नुहुन्छ, त्रिभुवन विश्वविद्यालयका भूगर्भशास्त्रका प्राध्यापक डा. तारानिधि भट्टराई।

“भूकम्पपछि २०७२ सालमा पूर्वानुमान अनुसार पहिरो गएन, त्यसको कारण त्यस वर्ष सोचे जति पानी परेन भनियो। तर त्यसको अर्को वर्ष पनि त्यस्तो धेरै पहिरो गएन”, डा.भट्टराईले भन्नुभयो ,”२०७४ सालदेखि किन पहिरो बढ्यो भने त्यस वर्ष चुनाव भएको थियो। चुनावअघि भोट आफ्नो पक्षमा पार्न पहाडका पाखामा एक्स्काभेटर लगेर धमाधम जथाभाबी बाटो खनियो। त्यो योजनाबद्ध भएन, त्यसले पहिरो निम्त्यायो।”

उहाँले विज्ञान र प्रविधिको तादात्म्य नमिलाई बाटो खन्ने प्रवृत्ति बढेकाले पहिरो पनि बढिरहेको दाबी गर्नुभयो।

उहाँका भनाइमा जमिन भिरालो भएर बस्दाखेरि एक खाले प्राकृतिक सन्तुलन कायम थियो।

त्यसलाई अवैज्ञानिक रूपमा भताभुङ्ग पार्दा समस्या निम्तिएको हो।

“हामीले एक्स्काभेटर पहाडलाई स्वाट्टै काटिदियौँ, अनि काटिदिएपछि माथिबाट गर्लम्म झर्ने ठाउँमा झरिहाल्यो”, उहाँँले भन्नुभयो।

पहिरो

पहिरो

पहिरो जाने अर्को कारण उहाँ गाउँघरमा खेती गर्ने क्रम कम हुँदा र युवा जनशक्ति विदेश वा शहरमा पलायन हुँदा निम्तिएको पानी र जमिन व्यवस्थापनको समस्या देख्नुहुन्छ।

गाउँघरमा पहिले आफ्नो खेतबारी र जङ्गल वा सरकारी जग्गाको सीमामा कुलेसो खनेर त्यसलाई नजिकैको प्राकृतिक खोल्सामा लाने चलन रहेको थियो।

त्यस्तो चलन अहिले गाउँमा वृद्धवृद्धा मात्र हुँदा हराएको र वर्षाको भेल खेतीयोग्य बारीको कमलो माटोमा झर्दा पहिरो बढेको उहँले बताउनुभयो।

उहाँ भूकम्पपछि लगत्तैका वर्षहरूमा समेत ठूला पहिरा नजानु र हालसम्ममा धेरै चिराहरू पनि प्राकृतिक रूपमै पुरिएकाले भूकम्पलाई अहिले पनि कारण देखाउन उचित नभएको दाबी गर्नुहुन्छ।

“त्यो बेलाको चिराको कारणले अहिले पहिरो गयो भनेर पुष्टि गर्ने आधार छैन”, उहाँले भन्नुभयो ।

 

Share Now

Leave a comment.