काठमाडौं, १४ आषाढ । नेपालमा विगत २४ घण्टामा थप ४२ जनाको मृत्यु भएको छ भने थप २ हजार ४ सय ४४ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार ६ सय ४० जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ। तीमध्ये ४ हजार ९ सय ९२ परीक्षण एन्टिजन विधिबाट गरिएको हो।
कुल परीक्षणको २१ प्रतिशतमा सङ्क्रमण देखिएको हो।
सो अवधिमा ३ हजार ८ सय ५३ जना सङ्क्रमणमुक्त भएपछि निको भएका सङ्क्रमित ९२.६ प्रतिशत पुगेका छन्।
यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या ६ लाख ६४ हजार पुगेको छ भने मृतकको सङ्ख्या ९ हजार ५१ पुगेको छ।
अहिले कुल ३५ हजार ७५ जनामा सक्रिय सङ्क्रमण रहेको र तीमध्ये २ हजार ८ सय ७५ जना संस्थागत आइसोलेशनमा रहेका छन्।
कुल सक्रिय सङ्क्रमितमध्ये ८ हजार ३ सय ९७ जना काठमाडौं उपत्यकामा रहेका छन्।
अहिले देशभरिका २० जिल्लामा ५ सय भन्दाबढी सक्रिय सङ्क्रमित छन् भने थप २६ जिल्लामा २ सय भन्दाबढी सक्रिय सङ्क्रमित रहेका छन्।
अहिले सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाडौं उपत्यकाका धेरै भएको तथ्याङ्कले देखाउँछ।
सोमवार पुष्टि भएकामध्ये काठमाडौं ३ सय ५५ जना छन् भने ललितपुर र भक्तपुरका क्रमशः १ सय १२ र ४७ जना रहेका छन्।
एक सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएका जिल्लाहरूमा झापा १ सय ९३ जना र मोरङ १ सय १६ जना रहेका छन्।
मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिले ६ सय ५७ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १ सय ९३ जना भेन्टिलेटरमा छन्।
लिङ्गका आधारमा हेर्दा कोभिडबाट सङ्क्रमित हुनेहरूमा ३९.२५ प्रतिशत महिला छन् भने ६०.७५ प्रतिशत पुरुष छन्।(बीबीसीबाट)


















