Prakash Adhikari June 28, 2021

जनकपुरधाम(धनुषा), १४ आषाढ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सोमबार प्रदेश हरित अभियान—२०७८ को शुभारम्भ गर्नुभएको छ ।

डिभिजन वन कार्यालय धनुषाले मिथिला नगरपालिका—।४ पुष्पलपुरमा आयोजना गरेको कार्यक्रममा उहाँले बरपिपलको बिरुवा रोपेर अभियानको शुभारम्भ गर्नुभएको हो ।

मुख्यमन्त्री राउतले अभियानको शुभारम्भ गरेलगतै प्रदेशको आठै जिल्लामा एक साथ वृक्षारोपणको शुरुवात भएको छ ।

राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर शुभारम्भ गरिएको सात दिवसीय अभियानअन्तर्गत आठ वटै जिल्लाको कूल ११ सय ३५ हेक्टर जग्गामा १४ लाख ४६ हजार ७ सय ९६ बिरुवा रोप्ने कार्यक्रम रहेको प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. रामचन्द्र कडेलले जानकारी दिनुभयो ।

अभियानको शुभारम्भका लागि आठ वटै जिल्लामा प्रदेश सरकारका मन्त्री एवं राज्यमन्त्रीहरु पुग्नु भएको थियो ।

सप्तरीमा समाजिक विकासमन्त्री नवलकिशोर साह, सिरहामा अर्थमन्त्री विजयकुमार यादव , महोत्तरीमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय र आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री सरोज सिंह कुशवाहा, सर्लाहीमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय र महिला, बालबालिका तथा खेलकुदमन्त्री वीरेन्द्रकुमार सिंह, रौतहटमा भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, बारामा अर्थराज्यमन्त्री उषाकुमारी यादव तथा पर्सामा उर्जा तथा खानेपानीमन्त्री ओमप्रकाश शर्माले अभियानको शुभारम्भ गर्नुभएको थियो ।

एक घण्टामा २० हजार वृक्षरोपण

यसैबीच राष्ट्रिय वृक्षारोपण दिवसका अवसरमा सुनवल नगरपालिका ११ जर्गाहास्थित कोटहीदेवी सामुदायिक वन क्षेत्रमा आज ती वृक्षरोपण सम्पन्न भएको छ ।

नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)मा एक घण्टामा २० हजार बिरुवा रोपिएको हो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले वृक्षरोपण गर्दै वन क्षेत्रको दीगो व्यवस्थापन र संरक्षणबाट काठजन्य बस्तुको आयातलाई अन्त्य गर्न आवश्यक रहेको बताउनुभयो ।

 

उहाँले रोपिएका बिरुवाको संरक्षण, गोडमेल, हुर्काउने तथा बढाउने अभियान चलाउन आग्रह गर्नुभयो ।

प्रदेशको उद्योग वन तथा वातावरण मन्त्रालय र डिभिजन वन कार्यालयको संयुक्त आयोजनामा सिसौ, अमला, टिक, जामुन, कदम, खयर लगायत प्रजातिका बिरुवा रोपिएको थियो ।

सामुदायिक वनको खाली रहेको २९ हेक्टर क्षेत्रफलमा ३९ हजार बिरुवा रोप्ने लक्ष्य अनुसार आज १५ हेक्टर क्षेत्रफलमा २० हजार बिरुवा रोपिएको प्रदेशका उद्योग वन तथा वातावरणमन्त्री कल्पना पाण्डेले जानकारी दिनुभयो ।

सो अवसरमा उहाँले वन संरक्षण र हरियाली प्रर्वद्धन गर्न प्रदेश सरकारले नीति तथा कार्यक्रम रहेको बताउनुभयो ।

नेपाल विद्युत प्राधिकरण (बर्दघाट सर्दी १३२ केभी प्रसारण लाइन आयोजना) मार्फत ती बिरुवा रोपिएको हो ।

सो अवसरमा डिभिजन वन कार्यालय परासीका प्रमुुख शङ्करप्रसाद गुप्ता र कोटहीदेवी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ईश्वरीप्रसाद जैसीले रोपिएका बिरुवाको संरक्षण गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

दाङमा वृक्षारोपण सप्ताह शुरु

डिभिजन वन कार्यालय दाङको आयोजनामा आज तुलसीपुर र घोराहीमा वृक्षरोपण गरी राष्ट्रिय वृक्षरोपण सप्ताह शुरु भएको छ ।

घोराहीस्थित मित्र सामुदायिक वन क्षेत्रमा अतिक्रमण गरिएको करिव १० कठ्ठा जग्गा खाली गराइ यो वर्षको वृक्षरोपण अभियान थालिएको डिभिजन वन कार्यालय दाङका प्रमुख विजयराज सुवेदीले जानकारी दिनुभयो ।

सो सामुदायिक वनको अतिक्रमण हटाइएको क्षेत्रमा टिक, खयर, मसला, सिसौ, लहरे पिपल प्रजातिका ४ सय ५० बिरुवा रोपिएको छ । तुलसीपुरस्थित मेट्रो कलेजको जग्गामा पनि वृक्षरोपण गरिएको छ ।

त्यहाँ फलफूल तथा सौन्दर्य प्रजातिका बिरुवा रोपिएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभयो ।

वन कार्यालय दाङले यस वर्ष जिल्लाका विभिन्न स्थानमा तीन लाख बिरुवा रोप्ने कार्यक्रम रहेको जनाएको छ जसमा एक लाख जडिबुटी र दुइ लाख काष्ठ तथा बहुउद्येश्यीय प्रजातिका बिरुवा रहेका छन् ।

गण्डकीमा पनि वृक्षारोपण

 

राष्ट्रिय वृक्षारोपण दिवसका अवसरमा पोखरा–१६ अर्मलाको लप्सीबोटमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार आयोजित एक विशेष कार्यक्रममा गण्डकी प्रदेश वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयका सचिव डा महेश्वर ढकालले जडिवुटी प्रजातिको विरुवा टिमुर रोपेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।
सो अवसरमा वन निर्देशक केदारनाथ पौडेल, डिभिजन वन कार्यालय प्रमुख केदार बराल र स्थानीयबासिन्दाको सहभागिता रहेको थियो ।

कार्यक्रम कृषि वन कार्यक्रम पकेट क्षेत्र अर्मला हिडी अलैँची कृषि समूहको आयोजना एवं डिभिजन वन कार्यालय कास्की कृषि वन प्रवद्र्धन तथा विस्तार कार्यक्रमको सहयोग रहेको बताइएको छ ।

Share Now

Leave a comment.