–पूर्णप्रसाद मिश्र/रासस
काठमाडौँ, १५ आषाढ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ ।
आज आषाढ महिनाको १५ गते , नेपाल भरका किसानहरु धान खेतमा व्यस्त छन् । किसानहरुको श्रम विभाजन अनुसार कोही हल गोरु चलाएर खेत हिल्याउदै छन् । कोही हिलो सम्याउदै छन् । हलिले सम्याउन नभ्याएका हिलो सम्याउने र खेतका आली मिलाएर धानको बिरुवा अर्थात रोपोको आकार अनुसार पानीको सतह मिलाउन आलीमा पानी निकासको व्यवस्था गर्ने बाउसेहरु सक्रिय भएका हुन्छ त असारे भाकामा गीत गाउदै रोपाहारहरु छुपुछुपु धान रोपिरहेका हुन्छन् ।
साच्चै किसानको परिवार अनुहारमा मुस्कान आउने दिन हो आषाढको १५ ।
देशभर मनसुन फैलिएर पानी स्रोतहरु पुर्नभरण हुने भएकोले यो समय प्राय सबै भागका खेतहरुमा पर्याप्त पानी पुगेको हुन्छ ।
धान नेपालको प्रमुख खाद्यान्न बाली हो । तराईका समथर फाँटदेखि, नदी किनारका गैरी खेत र पहाडी क्षेत्रका पाखा खेतसहित हिमाली भेगका नदी किनारामा पनि धान खेती हुने गरैको छ ।
मध्य आषाढको समयमा पर्याप्त हुर्कने बढ्ने र फल्ने समय पाउने भएकोले मध्य असारलाई मानो रोपेर मुरी उब्जाउने समय पनि पनि भनिन्छ । यही बेला रोपेको धानमा अन्नका बाला यसभन्दा पछाडि रोपिएका पछौटे धान भन्दाबढी लाग्ने भएकोले पनि सबै किसानहरुमा यस समय धान रोप्ने रहर हुन्छ । यसैले कुनै पनि किसान परिवार मध्य आषढमा फुर्सदमा हुँदैनन् । नेपालमा १५ असार अर्थात असारको चटारोले यही आवश्यकता,अनिवार्यता र बेफुुर्सदीलाई संझाउने गरिन्छ ।
दही-च्यूरा संस्कृति
खेतमा रोपाईमा संलग्न सबै किसानहरु आजको दिनमा विशेष खाजा पनि खाने गर्दछन् । हिउँसो दोस्रो प्रहरमा खाने खाजालाई दोपहरे भनिन्छ । खेतको काम सकिएपछि घर निस्कनु अगाडि पनि दिनभरका कामले थाकेका सबै मिलेर खाजा खाने चलन छ ।
दोपहरको खाजामा विशेष गरी दही,च्यूरा र तरकारी खाने चलन छ । किसान परिवारको यही दही च्यूरा खाने संस्कृतिलाई शहर बजारमा पनि आज दही च्यूरा खाएर स्मरण गर्ने गरिन्छ । यो खासमा कृषि र धान खेतीको महत्व दशाउने संस्कृति हो ।
कामको चटारोले थकित भएका किसान लाई दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।
हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभ काममा निस्कनु अघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रही आएको छ ।
दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गर्नुभएको थियो भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । ‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्ने जस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ । पखाला लागेका बेला दही च्यूरा खाएमा औषधिको काम गर्छ । यसैले दही च्यूरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद् रुप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ ।
धान दिवस
विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो ।
किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपु छुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापा छ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ ।
–––


















