Prakash Adhikari June 29, 2021

 

काठमाडौं, १५ आषाढ । विगत २४ घण्टाको अवधिमा नेपालमा थप २ हजार ६ सय ३६ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको छ भने यस घातक भाइरसको संक्रमणको कारण २० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलवार सार्वजनिक गरेको विवरण अनुसार ११ हजार ७ सय ४८ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको जनाएको छ । तीमध्ये ४ हजार ४ सय ८९ परीक्षण एन्टिजन विधिबाट गरिएको हो।

कुल परीक्षणको २२.४ प्रतिशतमा सङ्क्रमण देखिएको हो।

सो अवधिमा ४ हजार ३ सय ४८ जना सङ्क्रमणमुक्त भएपछि निको भएका सङ्क्रमित ९३ प्रतिशत पुगेका छन्।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या ६ लाख ७० हजार पुगेको छ भने मृतकको सङ्ख्या ९ हजार ७१ पुगेको छ।

अहिले कुल ३२ हजार ३ सय ४९ जनामा सक्रिय सङ्क्रमण रहेको र तीमध्ये २ हजार ९ सय ६१ जना संस्थागत आइसोलेशनमा रहेका छन्।

कुल सक्रिय सङ्क्रमितमध्ये ८ हजार २ सय ३० जना काठमाडौं उपत्यकामा रहेका छन्।

अहिले देशभरिका २० जिल्लामा ५ सय भन्दाबढी सक्रिय सङ्क्रमित छन् भने थप २६ जिल्लामा २ सय भन्दाबढी सक्रिय सङ्क्रमित रहेका छन्।

सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाडौं उपत्यकाका धेरै भएको तथ्याङ्कले देखाउँछ।

मङ्गलवार पुष्टि भएकामध्ये काठमाडौं ३ सय २ जना छन् भने ललितपुर र भक्तपुरका क्रमशः १ सय र ५६ जना रहेका छन्।

एक सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएका जिल्लाहरूमा चितवन १ सय ५५ जना, झापा १ सय ५० जना र सुनसरी १ सय ३८ जना रहेका छन्।

मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिले ६ सय ४९ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १ सय ८४ जना भेन्टिलेटरमा छन्।

 

Share Now

Leave a comment.