Prakash Adhikari February 19, 2018

 

काठमाडौं, ७ फागुन । संघीय मन्त्रिपरिषद्लाई पूर्णता दिन गठबन्धनका सहयात्री प्रचण्डले पुर्याएको ढोकाढोका चहार्न बाध्य भएका प्रधानमन्त्री तथा एमाले अध्यक्ष के पी शर्मा ओली सहित सिंगो एमाले र बामगठबन्धनलाई प्रदेश ६ का एक सांसदले निकै ठूलो चुनौति खडा गरिदिएका छन् ।

प्रधानमन्त्री ओलीले काठमाडौंको टुंडिखेलबाट मुलुक स्थायीत्व, विकास,समृद्धि र सुशासनको मार्गमा लागेको सन्देश पढिरहदा मुलुकको सबैभन्दा पिछडिएको प्रदेशको सबैभन्दा पिछडिएको जिल्ला मुगुका सांसदले प्रदेश सभाका एमाले संसदीय दलका नेताले पैसा खाएर मन्त्री चयन गरेको आरोप लगाउदै प्रदेश सभा सदस्य र पार्टीका सबै पदबाट राजिनामा दिएका छन् ।

मुगुबाट निर्वाचित एमालेका सांसद चन्द्रबहादुर शाही प्रदेशको सभामुखका आकांक्षी रहेका थिए । तर पार्टीले दैलेखका राजबहादुर शाहीलाई सभामुख बनाएपछि उनी मन्त्रीको आकांक्षी थिए । आइतबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद गठन गर्दा एमालेबाट उनी परेनन् । त्यसपछि उनले अपमानित महशुस गर्दै राजीनामा दिएको बताए ।

एमाले केन्द्रीय सल्लाहकार शाहीले सांसद तथा पार्टीको साधारण सदस्य दुवै पदबाट राजीनामा दिएका हुन् ।

मुगुमा एमालेबाट चुनाव जित्ने शाही पहिलो व्यक्ति हुन् ।

एमाले नेता शाहीले २०५६ सालमा मुगुबाट प्रतिनिधिसभा सदस्य जितेका थिए । उनी आठौं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए भने हाल सल्लाहकार छन् ।

२०४२ सालमा जेल परेपछि पार्टीको पूर्णकालिन राजनीतिमा लागेका शाही १५ वर्षसम्म मुगुमा एमालेको पार्टी प्रमुख भएर काम गरेका थिए । उनी यसअघि एमालेको कर्णाली अन्चल समन्वय कमिटी सदस्य थिए । पार्टीभित्र उनी माधव नेपाल खेमाका मानिन्छन् ।

राजिनामा दिन सुर्खेतबाट सोमबार विहान काठमाडौं हिडेका शाहीले प्रदेशसभा सदस्यको राजीनामा हुलाकमार्फत सभामुखलाई पठाएका छन् ।

त्यस्तै पार्टीको साधारण सदस्यसमेत नरहने गरी केन्द्रीय कार्यालयमा राजीनामा बुझाउन लागेको शाहीले बताए ।

शाहीले पार्टी नेतृत्वमाथि गम्भिर आरोप लगाएका छन् । उनले नवप्रवेशी र पैसावालहरुलाई आर्थिक चलखेल गरेर संसदीय दलका नेता यमलाल कँडेलले मन्त्री बनाएको संगीन आरोप लगाएका छन्।

उनले पार्टीमा कुनै योगदान नगरेका र कुनै कमिटीमा नरहेका व्यक्तिलाई सभामुख बनाएको र आफू माथि सहनै नसकिने अन्याय गरेपछि धेरै पीडावोध महशुस गरेर राजीनामा दिएको गुनासो पनि गरेका छन।

एमालेबाट मन्त्री बनेका डोल्पाका नन्दसिंह बुढालाई उनले राप्रपाबाट एमाले प्रवेश गरेका नवप्रवेशीको संज्ञा दिएका छन् भने हुम्लाका दल रावल जनमोर्चाबाट एमाले प्रवेश गरेका एनजिओकर्मी को विल्ला भिराएका छन् ।

उनले सुर्खेतका ठेकेदार खड्ग खत्रीलाई दलका नेता कँडेलले आर्थिक चलखेल गरेर मन्त्री बनाएको समेत आरोप लगाएका छन् ।

शाहीको प्रश्न छ,‘नवप्रवेशी र पार्टीमा कुनै योगदान नगरेका व्यक्तिहरुलाई आर्थिक चलखेल गरेर मन्त्री बनाइन्छ भने यस्तो पार्टीमा कसरी बस्न सकिन्छ ?’

शाहीले पार्टीको संगठन गर्दा जेलनेल खाएको र मुगुमा पार्टी स्थापना गर्दै केन्द्रीय कमिटीसम्म पुगेको व्यक्तिमाथि यो भन्दा ठूलो अपमान केही हुनै नसक्ने बताउदै पथबाट विचलित भएको एमालेमा रहिरहन अन्तरमनले नदिएको बताएका छन् ।

Share Now

Leave a comment.