Prakash Adhikari July 1, 2021

काठमाडौं, १७ आषाढ । निरन्तरको वर्षाले मेलम्ची खोलाको बहाव बढेको छ । आषाढ १ गते मेलम्चीको शीर हेलम्बुको भेमाथाड.मा गएको पहिरोले थुनिएर बाँध फुटपछि मेलम्ची आयोजनादेखि मेलम्चीबजारसम्म वितण्डा मच्चाएको मेलम्ची नदीले फेरि पनि स्थानीयवासीलाई त्रसित बनाएको छ ।

बुधबार दिउँसोदेखि निरन्तर परेको पानीले हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिममा परेको भन्दै प्रहरीले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार तटीय क्षेत्रहरुमा अझै बाढी आउनसक्ने भएकाले सुरक्षित स्थानमा गएर बस्न आग्रह गरिएको छ ।

यही आषाढ १ गते र ५ गतेको बाढीले जोगाएको खोला किनारका घर तथा संरचना र खेतीयोग्य जमिनसमेत अहिलेको वर्षाले कटान गरिरहेको मेलम्ची–११ का दशरथ दनुवारले जानकारी दिनुभयो ।

“खोलाको बहाव बढिरहेको छ । अस्तिको बाढीले बचेको घर पनि लैजाने भो, ज्यान जोगाउन मुस्किल छ”, दनुवारले भन्नुभयो ।

तनहुँको बर्षाले मर्स्याड.दी नदीले सतर्कता तह पार

अविरल वर्षाका कारण तनहुँको बन्दीपुरस्थित विमलनगरमा मर्स्याड.दी नदीले जलसतह सतर्कता पार गरेको छ ।

मङ्गलबारदेखि परेको वर्षाका कारण आज मर्स्याड.दी नदीले जलसतह सतर्कता पार गरेको हो ।

पछिल्लो छ घण्टा भारी वर्षा भएकाले नदी तटीय क्षेत्र तथा होचा स्थानमा डुबान हुनसक्ने भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
लमजुङको घरेढुङ्गा, राइनसटारलगायतका ठाउँमा पनि नदीले जलसतह सतर्कता पार गरेको छ ।

छाब्दीखोला पुल बग्यो

अविरल वर्षासँगै आएको बाढीले व्यास–१ र १३ जोड्ने छाब्दीखोलाको पुल बगाएको छ । बुद्धसिं मार्गअन्तरगत बेलबासनजिक रहेको पुल बिहिबार बिहान बाढीले बगाएको हो ।

मङ्गलबारदेखि जिल्लामा निरन्तर वर्षा भइरहेको छ । पुल बगाएसँगै स्थानीयवासीलाई वारपार गर्न समस्या भएको स्थानीयवासी अमर भण्डारीले जानकारी दिनुभयो ।

कमला नदीमा बहाव बढ्यो

अविरल वर्षासँगै कमला नदी पानीको बहाव निरन्तर बढ्दै गएपछि स्थानीय प्रशासनले नदी क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलसहितको सुरक्षा निकायका प्रमुखहरुको टोलीले कमला क्षेत्रको निरीक्षण गरी नदीमा पानीको बहाव बढेकाले सचेत रहन स्थानीयवासीलाई गरेको हो ।

सिन्धुलीतर्फको बहाव तीन मिटर र सोभन्दा तल अर्थात सिरहा तथा धनुषातर्फ डेढ मिटर बढेको जनाइएको छ । पानीको सतह डेढ मिटर बढ्नुको साथै निरन्तर बढ्दै गएपछि आसपासको क्षेत्रमा ‘अलर्ट’ जारी गरिएको प्रजिअ कँणेलले बताउनुभयो ।

छिर्कनेमा घर पुरियो

अविरल वर्षासँगै आएको पहिरोले आज बिहान व्यास नगरपालिका–१२ छिर्कनेमा एक घर पुरिएको छ । बिहान ३ बजे आएको पहिरोले घर पुरिएको हो ।

घर पुरिए पनि मानवीय क्षति भने नभएको स्थानीयवासीले बताएका छन् । घरमा रहेका पाँच जनाले भागेर ज्यान जोगाएका छन् ।

Share Now

Leave a comment.