काठमाडौं, १८ आषाढ । नेपालमा वितेका २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ३४ जनाले जीवन गुमाएका छन भने थप २ हजार २ सय ९९ जना यस घातक भाइरसको संक्रमणमा परेका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको दैनिक बुलेटिनमा जनाइए अनुसार पीसीआर र एन्टिजन गरी कुल १० हजार ५ सय ९६ जनाको परीक्षण गरिँदा २ हजार २ सय ९९ जनामा सङ्क्रमण भेटिएको हो । यसको अर्थ नेपालमा अझै सङ्क्रमण दर करिब २१.७ प्रतिशत रहेको छ।
सङ्क्रमित हुने वा मृतकको सङ्ख्याभन्दा पनि तीनदिन यता सङ्क्रमण दर २२ प्रतिशत हाराहारी वा त्यसभन्दा माथि रहनुले थप सजग हुनुपर्ने अवस्था आएको जनस्वास्थ्यविदहरूले बताएका छन्।
मङ्गलवार सङ्क्रमण दर २२ प्रतिशत थियो भने बुधवार त्यो सङ्ख्या २५ प्रतिशत र बिहिवार त्यो सङ्ख्या २५.१२ प्रतिशत पुगेको थियो। शुक्रवार फेरि त्यो सङ्ख्या करिब २२ प्रतिशत रहेको छ।
कुल सङ्क्रमितको सङ्ख्या मङ्गलवार २ हजार ६ सय ३६ थियो, बुधवार २ हजार ८ सय९२ थियो भने बिहीवार २ हजार ७ स ६० थियो।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख डा.अनुप बाँस्तोलाका अनुसार सङ्ख्या बढ्ने र सङ्क्रमण दर बढ्ने भएपछि न्यूमोनिया लगायतका कोभिडका गम्भीर समस्या लिएर अस्पताल आउने बिरामीको सङ्ख्या पनि अब फेरि उकालो लाग्ने अनुमान गर्न सकिन्छ।
शुरूमा एक हप्ता सामान्य लक्षण हुने र त्यसपछि निश्चित प्रतिशतलाई गम्भीर लक्षण देखा पर्ने हुनाले अहिले बढेको सङ्क्रमण दरको प्रभाव अबको एकहप्ताभित्र देखिन थाल्ने उहाँले बताउनुभयो।
अहिले पनि शुक्रराज अस्पताल टेकुमा आइसीयू खचाखच रहेको र जनरल वार्डमा भने करिब एक तिहाइ शय्या खाली रहेको उहाँले बताउनुभयो।
नेपालमा हाल कुल सङ्क्रमितको सङ्ख्या ७ लाख नजिक पुगेको छ। त्यसैगरी कुल मृत्यु हुने सङ्ख्या ९ हजार १ सयय ७९ पुगिसकेको छ।
कोभिड बिरामी
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा निको हुने दर ९४ प्रतिशत पुगेको छ। मृत्युदर १.५ प्रतिशत रहेको छ।
त्यसैगरी सङ्क्रमितमध्ये करिब ४० प्रतिशत महिला छन् भने करिब ६० प्रतिशत पुरुष रहेका छन्।
र पछिल्लो समय सबभन्दा बढी सङ्क्रमित हुने उमेर समूह २० देखि ४० को रहेको छ।
गत मङ्गलवारदेखि निषेध आदेश थप खुकुलो बनाएर सार्वजनिक यातायात चलाउन दिने निर्णय गरिएको थियो।
तर सार्वजनिक सवारी साधनमा सुरक्षा मापदण्ड पालना नगरिएको, मानिसहरू घर बाहिर निस्कँदा पनि सुरक्षा मापदण्डको बेवास्ता गरेको लगायतका कारणले निषेधाज्ञा खुकुलो पारिएसँगै बिरामीको सङ्ख्या बढ्न पुगेको बताइन्छ।
पछिल्लो एक दिनमा काठमाडौं सबभन्दा धेरै ३ सय १६ सहित उपत्यकामा ४ सय २८ सङ्क्रमित थपिएका छन्।
गम्भीर बिरामी भएर सघन उपचार कक्षमा उपचार गराइरहेकाहरूको सङ्ख्या ६ सय ३२ रहेको छ भने भेन्टिलेटरमा १ सय ८१ जना रहेका छन् ।(बीबीसीबाट)


















