Prakash Adhikari July 8, 2021

 

काठमाडौं, २४ आषाढ । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले आज(आषाढ २४ गते)देखि प्राथमिक सेयर (आइपीओ) निष्काशन गरेको छ।

कम्पनीले रु १०० अंकित मूल्य कुल ६४ लाख ५० हजार कित्ता सर्वसाधारण समूहको सेयर निष्कासन गरेको हो।

आजदेखि सार्वजनिक निष्काशनमा आएका सेयरमध्ये सामुहिक लगानी कोष र कर्मचारीलाई छुट्याएपछि ५८ लाख ५ हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड हुनेछ।

कम्पनीको आइपीओमा २८ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीको शेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

कम्पनीले इक्रा नेपालबाट ट्रिपल बी रेटिङ प्राप्त गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता औसत जोखिम रहेको जनाउँछ। इक्रा नेपालले एएए देखि डीसम्म रेटिङ प्रदान गर्दछ। जसले एएए सबैभन्दा राम्रो र डी सबैभन्दा कमजोर संकेत गर्दछ।

कम्पनीको आइपओिमा न्यूनतम १० कित्ता र अधिकतम ३२ हजार २ सय ५० कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

सिडिएससीको अनलाइन माध्यम मेरो सेयरमार्फत् वा आफ्नो खाता रहेको बैंक शाखाबाट पनि सेयरमा आवेदन भर्न सकिनेछ।

नयाँ जीवन बीमा कम्पनीमध्ये यसअघि प्रभु, ज्योति र रिलायन्स लाइफले आइपीओ जारी गरिसकेका छन्।

आइएमई, रिलायबल, सिटिजन, सन नेपाल, सानिमा र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ जारी गर्न बाँकी छ। यी कम्पनीहरूले पनि क्रमश आइपिओ जारी गर्नेछन्।

नयाँ बानेश्वरमा प्रधान कार्यालय रहेको युनियन लाइफले चैत मसान्तसम्म खुद ८ अर्ब २५ करोड रुपैयाँ नाफा कमाएको छ। सो अवधिसम्म कम्पनीको खुद बीमा शुल्क ५ अर्ब रुपैयाँ पुगेको छ।

कम्पनीको प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ४६ पैसा छ भने प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ३३ पैसा छ।

कम्पनीमा ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारणको सेयर रहनेछ।

कम्पनीको सञ्चालकमा शुलभ अग्रवाल, शेखर गोल्छा, शाहिलकुमार अग्रवाल, संदीपकुमार अग्रवाल हुनुहुन्छ।

 

Share Now

Leave a comment.