Prakash Adhikari July 8, 2021

 

काठमाडौं, २४ आषाढ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्योगी व्यवसायीसहित आम सर्वसाधारणको आत्मविश्वास बढाउने खालको मौद्रिक नीति ल्याउने तयारी भएको बताउनुभएको छ ।

उहाँले आज आर्थिक पत्रकार समाज नेपालद्धारा आगामी मौद्रिक नीतिका सन्दर्भमा दिएको सुझाव ग्रहण गदै सो कुरा बताउनुभएको थियो ।

कोरोना भाइरसको संक्रमण जोखिमका कारण चालु आर्थिक बर्षमा सरकारले अपनाएको बन्दाबन्दी र निषेधाज्ञाका कारण अर्थतन्त्रमा परेका असरहरुलाई संबोधन गर्ने सम्बन्धमा सुझाव प्रस्तुत गर्न सेजनको प्रतिनिधि मण्डल गभर्नरको कार्यालय बालुवाटारमा पुगेको थियो ।
सो अवसरमा गभर्नर अधिकारीले मौद्रिक नीति तय गर्ने सन्दर्भमा विभिन्न सरोकारवालासँग राष्ट्र बैंकले छलफल गरिरहेको तथा चालू आवको मौद्रिक नीतिले उद्योगी व्यवसायीसहित आम सर्वसाधारणलाई आत्मविश्वास मर्न नदिएको उल्लेख गर्नुभयो ।

उहाँले आगामी मौद्रिक नीतिले पनि उद्योगी व्यवसायीसहित आम सर्वसाधारणको आत्मविश्वास बढाउने खालको नै ल्याउने जानकारी दिनुभयो । “चालू वर्षको मौद्रिक नीतिका कारण हामीले उद्योगी व्यवसायीको आत्मविश्वास मर्न दिएनौँ । हामीले सबै सरोकारवालासँग छलफल पनि गरिसकेका छौँ । उद्योगी व्यवसायीको आत्मविश्वास बढाउन नै कोसिस गर्नेछौँ”, उहाँले भन्नुभयो ।

सुझाव प्रस्तुत गर्दै सेजनका अध्यक्ष भीम गौतमले कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रलाई चलायमान बनाउने गरी मौद्रिक नीति आउने विश्वास व्यक्त गर्नुभयो ।

सेजनका तर्फबाट आज गभर्नर महाप्रसाद अधिकारीलाई ३५बुँदे सुझाव दिइएको छ । सेजनले चालू आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनको चरणमै कोभिड–१९ को दोस्रो लहरले अर्थतन्त्रलाई जटिल मोडको पु¥याएको भन्दै अर्थतन्त्रको पुनरत्थानलाई नै ध्यानमा राखेर नीति ल्याउन आग्रह गरेको छ ।

“चालू आवको मौद्रिक नीतिले कोरोना भाइरसबाट थलिएको अर्थतन्त्रलाई पुर्नजीवित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । राष्ट्र बैंकले लिएको नीतिका कारण अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ तर मौद्रिक नीति कार्यान्वयनको चरणमै दोस्रो लहरको कोरोना भाइरसको असर बढेपछि फेरि नेपालको अर्थतन्त्र जटिल मोडमा पुगेको छ”, सेजनले भनेको छ ।

कोरोनाबाट प्रभावित अर्थतन्त्रको पुनरउत्थान गर्न मौद्रिक नीति सामु चुनौती थपिएको उल्लेख गर्दै सेजनले वित्तीय क्षेत्रलाई स्थायित्व दिनुपर्ने र अर्कोतर्फ राहत दिनुपर्ने परस्पर विरोधी विषयलाई सन्तुलन गर्नुपर्ने चुनौती रहेको स्मरण गराएको छ ।

सो अवसरमा डेपुटी गभर्नरद्वय बमबहादुर मिश्र र निलम ढुङ्गाना, कार्यकारी निर्देशक एवं प्रवक्ता देवकुमार ढकाललगायतको उपस्थिति थियो ।

Share Now

Leave a comment.