Prakash Adhikari July 15, 2021

काठमाडौं, ३१ आषाढ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को आजका सिफारिशमा आगामी साउन ३ गते सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।

नेपालको संविधानको धारा १५७ को उपधारा (१) बमोजिम नेपाल सरकारका सिफारिशमा आइतबार अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सरकारले आगामी साउन ३ गते सङ्घीय संसदको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिश गरेको थियो ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले साउन ३ गते अपराह्न ४ बजे बैठक बोलाउन सिफारिश गरेको हो ।

बैठकपछि सरकारका प्रवक्ता समेत रहनु भएका कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभाको बैठक आह्वान गर्ने सम्बन्धमा राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

सर्वोच्च अदालतले यही असार २८ गते गरेको फैसलाअनुसार सात दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउनुपर्ने उल्लेख छ । सर्वोच्चको परमादेशका आधारमा शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकार गठन भएसँगै संसद् बैठक बोलाउन लागिएको हो ।

Share Now

Leave a comment.