Prakash Adhikari July 16, 2021

बुटवल(रुपन्देही), १ साउन । प्रदेश सभाबाट बजेट पास गर्न नसक्ने अवस्था देखेर हिजोका प्रदेश सभा अकास्मात स्थगन गरी मध्यरातमा अधिवेशन अन्त्य गराएको लुम्बिनी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ ।

शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले बताउनुभएको छ ।

प्रदेश सरकारको आज बिहान बसेको मन्त्रिपरिषदले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख धर्मनाथ यादवले अर्थ र विनियोजन अध्यादेश जारी गर्नुभएको छ ।

‘असार १ गते प्रदेश सभामा पेश गरेको बजेट जस्ताको तस्तै अध्यादेशमार्फत ल्याइएको छ,’ प्रवक्ता चौधरीले भन्नुभयो ।

सरकारले आर्थिक वर्ष २०७८÷७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट प्रदेश सभामा पेश गरेको थियो । जसमा चालूतर्फ १४ अर्ब ९३ करोड र पुँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

बजेटको धेरै हिस्सा स्वास्थ्य, कृषि र पर्यटन केन्द्रित छ ।

एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले सहमतिमा बजेट पारित गर्न समय माग गरे अनुसार सभामुखले शुरुमा आधा घण्टा र पछि साउन २ गते १ बजेसम्मका लागि प्रदेश सभा बैठक स्थगित गर्नुभएको थियो ।

तर सरकारले मध्यराति नै चालु अधिवेशन अन्त्य गराएको थियो ।

प्रकृयामा गइसकेको बजेटलाई बिचैमा अलपत्र पारेर अल्पमतको सरकारले अध्यादेशबाट बजेट ल्याए सशक्त प्रतिवाद गर्ने घोषणा विपक्षी दलहरुले हिजो नै पत्रकार सम्मेलनमार्फत गरेका थिए ।

तर अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याएकोले संसदमा हुने सरकारमाथिको विरोधबाट मुख्यमन्त्री पोखरेल केहीसमय बच्नुभएको छ ।

 

Share Now

Leave a comment.