Prakash Adhikari July 18, 2021

काठमाडौ, ३ साउन । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन पार्टीका सांसदलाई आह्वान गर्नुभएको छ ।

स्वास्थ्योपचारका लागि भारतको नयाँदिल्लीमा रहनुभएका पूर्व प्रधानमन्त्री खनालले आज एक विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटन भएको स्थितिमा संसद् जोगाउन आफूहरुसमेतको सहभागितामा सर्वाेच्च अदालतमा रिट निवेदन दिइएकामा गत असार २८ गते पुन:स्थापना हुने फैसला भएकाले प्रतिनिधिसभालाई जोगाउन लाग्नुपर्ने जनाउनुभएको हो ।

नेपाली कांग्रेसका सभापति देउवा नेतृत्वको सरकारलाई प्रतिनिधिसभाको बाँकी कार्यकाल सञ्चालन हुन दिनुपर्ने अन्यथा मुलुकको स्थिति सङ्कटग्रस्त हुने विज्ञप्तिमा जनाइएको छ ।

नेता खनाल, वरिष्ठ नेता माधवकुमार नेपालसहितको २३ सांसदले देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा समर्थन गर्दै आउनुभएको छ । नेता खनालले वैचारिक र राजनीतिक एकतासहित गत असार २७ गतेको कार्यदलको १० बुँदे सहमति बमोजिम विधिपूर्वक एमालेलाई एकताबद्ध बनाउन पनि उहाँले आह्वान गर्नुभएको छ ।

 

एमालेले संस्थागतरुपमा संसद्मा प्रतिपक्षमा रहने निर्णय गरिसकेको छ ।

Share Now

Leave a comment.