Prakash Adhikari July 19, 2021

काठमाडौं, ४ साउन ।सर्वोच्च अदालतको फैसलाबाट पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो दिनको दोस्रो बैठकबाट प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएपछि त्यसबारे विभिन्न सञ्चारमाध्यमले फरक-फरक ढङ्गबाट समाचार सम्प्रेषण गरेका छन्।

उक्त घटनालाई अनलाइन, रेडियो, टेलिभिजन र पत्रपत्रिकाले निकै महत्त्वका साथ स्थान दिएको पाइएको छ।

नेपालको राजनीतिक इतिहासमा विरलै हुने घटनामध्येको एक सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री नियुक्त भएका देउवाले आइतवार संसद्बाट विश्वासको मत पाएका हुन्।

उक्त घटनालाई नेपालका लगभग सबैजसो सञ्चारमाध्यमले विशेष महत्त्व दिएका छन्।

यो समाचार तयार पार्दासम्म प्राप्त पत्रपत्रिका र डिजिटल सञ्चारमाध्यम हेर्दा उनीहरूले देउवाले विश्वासको मत पाएको घटनका साथसाथै नेकपा एमालेको माधव नेपाल समूह र जनता समाजवादी पार्टीको महन्त ठाकुर पक्षको निर्णयलाई पनि विशेष स्थान दिएको देखिएको छ।

पत्रपत्रिकाले के लेखे?

पत्रपत्रिका

राजधानी काठमाडौंबाट प्रकाशित हुने लगभग सबैजसो दैनिक पत्रिकाले प्रथम पृष्ठमै देउवाले पाएको विश्वासको मतबारे समाचार प्रकाशित गरेका छन्।

कान्तिपुर दैनिकले ‘प्रतिनिधिसभाको पूर्ण जीवन सुनिश्चित’ भन्ने ब्यानर शीर्षक दिएर विशेष प्राथमिकताका साथ समाचार छापेको छ।

उसले उक्त समाचारमा ३२ वर्षमा २८ पटक कांग्रेस सरकारमा गएको र एमालेका ३३ सांसदले पार्टी निर्णय उलङ्घन गरेको विषय पनि समेटेको छ।

अन्य पृष्ठ र विचारमा समेत कान्तिपुरले देउवाबारेका सामग्रीलाई स्थान दिएको छ।

अङ्ग्रेजी दैनिक द काठमाण्डू पोस्टले चाहिँ पहिलो पृष्ठमै देउवाले डेढ वर्ष शासन गर्न पाउनेगरी विश्वासको मत पाएको लेखेको छ।

उसले सम्पादकीयमा कोभिड-१९ नियन्त्रणलाई देउवा प्रशासनले प्राथमिकता नदिएको भन्दै आलोचना पनि गरेको छ।

अर्को अङ्ग्रेजी दैनिक द हिमालयन टाइम्सले पनि देउवाले विश्वासको मत पाएको विषयलाई प्रथम पृष्ठको मुख्य खबर बनाएको छ।

उसले देउवाले राष्ट्रिय सरकारका लागि पहल गरेको भन्ने शीर्षकमै लेखेको छ।

नयाँ पत्रिका दैनिकले पनि ब्यानर शीर्षक दिएर ‘देउवा शक्तिशाली प्रधानमन्त्री’ बनेको उल्लेख गरेको छ।

शेरबहादुर देउवा

शेरबहादुर देउवा

उसले संसद् विघटनपछि ओली सरकारले गरेका नियुक्ति खारेज गर्ने मन्त्रिपरिषद्को निर्णयलाई पनि प्रथम पृष्ठमै स्थान दिएको छ।

नयाँ पत्रिकाले सम्पादकीयमार्फत् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई यथार्थ स्वीकार्न सुझाव पनि दिएको छ।

अन्नपूर्ण पोस्ट दैनिकले ग्राफिक्स सहित ‘देउवालाई दर्बिलो विश्वास’ शीर्षकमा मुख्य समाचार लेखेको छ।

उसले पहिलो पृष्ठमा उक्त विषयका मात्र समाचार प्रस्तुत गरेको छ। एमालेका सांसदहरूले पार्टी निर्णय उल्लङ्घन गरेको विषयलाई उसले ‘पहिलो ठूलो फ्लोर क्रश’ भन्दै समाचार संप्रेषण गरेको छ।

सरकारी स्वामित्वको गोरखापत्रले ब्यानर शीर्षकमा ‘प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त’ लेखेको छ भने ‘राजनीतिक स्थिरताको सन्देश’ शीर्षकमा सम्पादकीय लेखेको छ।

गोरखापत्र संस्थानकै अङ्ग्रेजी दैनिक द राइजिङ नेपालले देउवाले विश्वासको मत सुरक्षित गरेको प्रथम पृष्ठमा ब्यानर शीर्षक दिएर लेखेको छ।

नागरिक दैनिकले ‘प्रधानमन्त्री देउवालाई विश्वासको मत’ भन्ने ब्यानर शीर्षकमै समाचार प्रकाशित गरेको छ।

नागरिकले एमालेका दुवै पक्षलाई यो प्रकरणले घाटा पुगेको समाचारलाई पहिलो पृष्ठमै स्थान दिएको छ।

उसले विश्वास आर्जनको बाटो शीर्षकमा सम्पादकीय पनि लेखेको छ।

प्रतिनिधिसमा पुनर्स्थापनापछि पहिलो बैठक
प्रतिनिधिसमा पुनर्स्थापनापछि पहिलो बैठक

राजधानी दैनिकले ‘देउवालाई एक सय पैसठ्ठी सांसदको साथ’ शीर्षकमा प्रथम पृष्ठमा समाचार लेखेको छ।

उसले मोदीले देउवालाई बहुमत पाए लगत्तै बधाई दिएको विषयलाई पनि प्राथमिकताका साथ पहिलो पृष्ठमै स्थान दिएको छ।

आर्थिक मामिलाबारे समाचारलाई प्राथमकिता दिने कारोबार दैनिकले चाहिँ देउवाले प्रतिनिधिसभामा पाएको विश्वासको मतबारेको समाचार पृष्ठ ६ मा मात्र छापेको छ।

आर्थिक अभियान दैनिकले चाहिँ पहिलो पृष्ठमै ‘देउवा सरकारले पायो विश्वासको मत’ शीर्षकमा समाचार छापेको छ।

आर्थिक दैनिकले चाहिँ ‘देउवालाई विश्वासको मत प्राप्त खस्कदो अर्थतन्त्र सुधार्ने मौका’ शीर्षकमा प्रथम पृष्ठमै समाचार प्रकाशित गरेको छ।

समाचारपत्र दैनिकले पनि पहिलो पृष्ठमै ‘प्रधानमन्त्री देउवाले लिए विश्वासको मत’ शीर्षकमा समाचार प्रकाशित गरेको छ।

Share Now

Leave a comment.