Prakash Adhikari July 23, 2021

निरञ्जन राजवंशी

काठमाडौं, ८ साउन । जापानको राजधानी टोकियोमा आज(शुक्रवार)देखि ३२ औँ गृष्मकालीन ओलिम्पिक्स सुरु हुँदैछ।

त्यस्तै २४ अगष्टबाट अपाङ्गता भएका खेलाडीहरूको पाराओलिम्पिक्स सोही रङ्गशालामा सुरु हुनेछ।

नेपालका तर्फबाट खेलमा सहभागी हुन जापान पुगेका पौडी खेलाडी गौरिका सिंह र एलेक्स शाहले उद्घाटन समारोहमा संयुक्त रूपमा नेपालको झन्डा बोक्नेछन्।

नेपालबाट चार खेलका पाँच खेलाडीसहित २६ सदस्यीय टोलीले विश्वको सबैभन्दा ठूलो खेल उत्सवमा सहभागिता जनाइरहेका छन्।

ओलिम्पिक्समा ३३ खेल समावेश गरिएको छ, जसको लागि ३३९ ‘इभेन्ट्स’हरू विभिन्न ४२ खेल स्थलमा सञ्चालन हुनेछ।

नेपालको खेल

नेपाली खेलाडीहरूको खेल उद्घाटनको भोलिपल्टबाट सुरु हुनेछ।

शनिवार शुटिङकी कल्पना परियारले १०० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् भने जुडोकी सोनिया भट्टले ४८ केजी मुनिको तौल समूहमा खेल्नेछिन्।

भट्टको विपक्षी खेलाडी रसियाकी डोल्गोभा इरिना हुन्।

त्यस्तै जुलाई २७ मा पौडीका एलेक्स शाहले १०० मिटर फ्री स्टाइलमा र जुलाई २८ मा गौरिका सिंहले सोही इभेन्ट्समा खेल्ने तालिका छ।

जुलाई ३० मा एथलेटिक्सकी सरस्वती चौधरीले १०० मिटर दौडमा भाग लिनेछिन्।

नेपालबाट १२ जना खेलाडीहरूले वाइल्ड कार्डका लागि प्रयास गरेकोमा दुई जनाले मात्र त्यो पाउन सफल भएका थिए।

कराँते, भारोत्तोलन, बक्सिङ, आर्चरी र तेक्वान्दोका खेलाडीहरूले वाइल्ड कार्ड पाउन सकेनन्।

त्यस्तै पाराओलिम्पिक्समा नेपालकी तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनले प्रतिस्पर्धा गर्नेछिन्। उनीबाट पदकको आशा समेत गरिएको छ।

सुनसान उद्घाटन

The Japan National Stadium

जापानको जापान न्याशनल स्टेडियममा केही खेल र उद्घाटन र समापन हुने तय छ

जापानमा कोभिड १९ को महामारी यथावत् रहेकोले ओलिम्पिक्स खेल पूर्ण रूपमा त्यसको छायामा सुरु हुनेछ।

आयोजकले बनाएका योजनाहरूमा कटौती गरिरहेका छन्। उद्घाटन समारोहमा एक हजार दर्शकहरू मात्र उपस्थित हुनेछन्।

त्यस्तै मार्च पासमा पनि खेलाडीको सङ्ख्या कटौती गरिएको बताइएको छ।

अनि उद्घाटन समारोहको कार्यक्रमहरूमा व्यापक छाँटकाँट गर्दै सामान्य ढङ्गको समारोह गरिने भएको छ।

टोक्यो २०२० का अध्यक्ष शेख हासिमोटोले टिकट किनिसकेका लाखौँ दर्शकहरूसँग माफी मागेका छन्।

कोरोनाभाइरसको छाया

कोरोनाभाइरस महामारीको सङ्ख्या बढिरहेकोले टोक्यो सहरमा गत ८ जुलाईबाट निषेधाज्ञा लगाइएको छ। त्यो २२ अगस्टसम्म कायम हुनेछ।

हुन त जापानमा कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या धेरै छैन।

ओलिम्पिक्स

ओलिम्पिक्स

जोन्स हप्किन्स विश्वविद्यालयको २३ जुलाईको तथ्याङ्क अनुसार जापानमा अहिलेसम्म ८ लाख ५३ हजार १ सय ३७मा कोरोनाभाइरस सङ्क्रमित भएका छन् भने मृत्यु हुनेको सङ्ख्या १५ हजार ४६ छ।

जापानको १२ करोड ६० लाख जनसङ्ख्या मध्ये ३५ प्रतिशतले कम्तीमा एक मात्रा खोप लगाइसकेका छन् भने २२ प्रतिशतले पूर्ण रूपमा खोप लगाइसकेको छ।

कोरोनाभाइरसका कारण बेलायत लगायत १ सय ५९ देशका मानिसलाई जापानमा आउन प्रतिबन्ध लगाइएको छ।

खेलाडीमाथि सावधानी

खेलाडीहरूले हरेक दिन कोभिड परीक्षण गर्नुपर्नेछ।

खेलाडीलाई उनीहरूको देशमा फैलिएको कोरोना महामारी अनुसार छुट्टाछुट्टै नियम लगाइएको छ।

जस्तै नेपाललगायत दक्षिण एशियाली राष्ट्रलाई जापानले ुरेड जोनुको सूचीमा राखेको छ।

त्यसैले नेपालले जापान जानु १४ दिन अगाडिदेखि सहभागीहरूको ज्वरो नाप्नु पर्ने तथा सात दिन अगाडिदेखि पीसीआर रिपोर्ट पेस गर्नुपर्नेछ।

सोही नियम अनुसार पीसीआर परीक्षण गर्दा एथलेटिक्स प्रशिक्षक इन्द्रकुमारी मल्ललाई कोरोना पोजेटिभ देखिएको थियो।

यति धेरै सावधानी अपनाउँदा पनि जापान पुगेका खेलाडीहरूमा अहिलेसम्म ९० जनामा कोरोना पोजेटिभ देखिसकिएको छ। जसमा बेलायतका खेलाडी अम्बेर हिल पनि छन्।

रद्द हुन सक्छ !

अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटी आईओसी र आयोजक सहरबीच भएको सम्झौता अनुसार आईओसीले चाहेमा मात्र खेल रद्द हुन सक्नेछ।

तर एक वर्ष पर धकेलिसकिएको खेल पुनः स्थगित गर्न वा रद्द गर्ने पक्षमा आईओसी देखिएको छैन।

आईओसीले टेलिभिजन प्रसारणबाट आउने ७० प्रतिशत र प्रायोजकबाट आउने १८ प्रतिशत आम्दानी गुमाउन नचाहेको बताइएको छ।

तर आईओसी अध्यक्ष थोमस ब्याचले ‘खेल रद्द गर्नु कुनै विकल्प नभएको’ भन्दै भनेका छन्, ‘यो खेल भविष्यको आशाको लागि हुनेछ।’

तर अधिकांश स्थानीय जनताहरूले भने कोरोना महामारीबीच भइरहेको ओलिम्पिकलाई रुचाएका छैनन्।

उनीहरूले कोभिड महामारी र अत्यधिक स्वास्थ्य सावधानीका कारण थप दबाव झेल्न गाहो हुने बताएका छन्।

गत मे महिनामा जापानी चिकित्सकहरूको युनियनले खेलका बेला स्वास्थ्य सेवा राम्ररी उपलब्ध गराउन ‘असम्भव’ हुने बताएको थियो।

एक पत्रिकाले गरेको सर्वेक्षण अनुसार ८० प्रतिशत जनताहरूले खेल रद्द गर्न वा स्थगित गर्ने पक्षमा मतदान गरेका थिए।

Share Now

Leave a comment.