Prakash Adhikari July 26, 2021

ट्युनिस(ट्युनिसिया), ११ साउन(बीबीसी) । देशभरि हिंसात्मक प्रदर्शनहरू चर्किएपछि ट्यूनिशियाका राष्ट्रपतिले प्रधानमन्त्रीलाई पदमुक्त गर्दै संसद्‌ निलम्बन गर्नुभएको छ।

सरकारले प्रभावकारी ढङ्गले कोभिड १९ महामारी नियन्त्रण गर्न नसकेको भन्दै आइतवार दशौँ हजार मानिस प्रदर्शनमा निस्केका थिए र प्रहरीसँग झडप भएको थियो।

देशमा शान्ति ल्याउन चाहेको भन्दै राष्ट्रपति काइस साईदले नयाँ प्रधानमन्त्रीको सहयोगमा आफूले नेतृत्व लिने बताउनुभएको छ।

तर विपक्षीहरूले राष्ट्रपति काइस साईदको कदमलाई कू अर्थात्‌ सत्तापलटको सङ्ज्ञा दिएका छन्।

“हामीले यी निर्णयहरू लिएका छौँ …. ट्यूनिशियामा सामाजिक शान्ति पुनर्बहाल नभएसम्म र हामी राष्ट्रलाई सुरक्षित नतुल्याएसम्मका लागि”, साईदले टेलिभिजनमार्फत् गरेको सम्बोधनका क्रममा भन्नुभएको थियो।

राष्ट्रपति कार्यालयमा आपत्कालीन सुरक्षा बैठक गरेपछि उहाँले टेलिभिजनमार्फत्‌ सम्बोधन गर्नुभएको थियो।

ट्यूनिस

ट्यूनिसिया

प्रधानमन्त्री हिसेम मेशीशीलाई बर्खास्त गरिएको खबर आइतवार अबेर राति सार्वजनिक भएपछि मानिसहरूले हर्षोल्लास गर्दै बाहिर निस्किएका थिए।

त्यसपछि राजधानी ट्यूनिसमा राष्ट्रपति साईद पनि भिडहरूमा सहभागी हुनुभएको थियो।

यो घट्नासंगै ट्यूनिससहित अन्य थुप्रै सहरमा झडपहरू भएका छन्। त्यस क्रममा प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै थुप्रै प्रदर्शनकारीलाई गिरफ्तार गरेको छ।

सैन्य चेतावनी

राष्ट्रपति साईदले थप हिंसाहरू भए त्यसलाई नियन्त्रणमा लिन सेनाको प्रयोग गरिने चेतावनी दिनुभएको छ।

“म चेतावनी दिन चाहन्छु कि जोसुकैले पनि यदि अस्त्र उठाउनेबारे सोच्छ.. र जोसुकैले पनि गोली चलाउँछ भने सशस्त्र फौजहरूले गोलीको जबाफ गोलीमार्फत्‌ दिनेछन्”, उहाँले भन्नुभएको छ।

संसद्‌माथि ‘सम्भावित खतरा’ छ भने त्यसलाई निलम्बन गर्ने अधिकार संविधानले आफूलाई प्रदान गरेको राष्ट्रपतिको दाबी छ।

ट्युनिस

ट्युनिस

तर निलम्बनमा परेको संसद्‌का सभामुख राशिद गनुशीले ट्यूनिशियाको ूक्रान्ति र संविधानमाथि कू गरिएकोू आरोप लगाउनुभएको छ।

दश वर्षअघि ट्यूनिशियामा क्रान्तिमार्फत् प्रजातन्त्र स्थापना भएको थियो। त्यहीँबाट सो क्षेत्रमा अरब क्रान्ति आरम्भ भयो।

तर त्यसपछि थप रोजगारी तथा अवसरहरू सिर्जना हुने आशा गरिएको थियो। तर त्यसो हुन नसक्दा मानिसहरू निराश देखिन्छन्।

क्रान्तिको एक दशक बितिसक्दा ट्यूनिशिया गम्भीर आर्थिक सङ्कटबाट गुज्रिरहेको छ भने उसले अफ्रिकाकै सबैभन्दा नराम्रो कोरोनाभाइरस महामारी झेलिरहेको छ।

 

Share Now

Leave a comment.