काठमाडौं, १२ साउन । अमेरिकासहित विभिन्न देशमा कोभिडविरुद्ध प्रयोग गरिएको फाइजर बायो टेक खोप खरिदका लागि नेपालले ‘नन(डिस्क्लोजर अग्रीमन्ट’ मा हस्ताक्षर गरेको अधिकारीहरूले बताएका छन्।
सरकारले कोभिड १९ विरुद्धका सबै खोप प्राप्तिका लागि पहल गरेको अवस्थामा फाइजरसँग पनि ‘एक तहको समझदारी भइसकेको’ र उक्त खोप खरिद गर्नका लागि ‘स्रोतको पनि जोहो भइसकेको’ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले जानकारी दिनुभएको छ।
अमेरिकासहित केही मुलुकमा फाइजर(बायोएनटेकले विकास गरेको खोप १२ वर्षमाथिका उमेर समूहमा पनि प्रयोगमा ल्याइएको छ।
नेपालमा पनि सरकारले १२ देखि १८ वर्ष उमेर समूहका किशोर किशोरीलाई उक्त खोप दिने लक्ष्य राखेको स्वास्थ्य सचिव अर्यालले जानकारी दिनुभयो।

सरकारले बालबालिकाको सङ्ख्याका आधारमा ६० लाख फाइजर खोप प्राप्तिका लागि पहल अघि बढाइएको बताइएको छ।
त्यसबाहेक कोभ्याक्स सुविधामार्फत् थप ४० लाख मात्रा फाइजर खोप नेपालमा ल्याउने तयारी भइरहेको अधिकारीहरू बताउँछन्।
“हामीले गोप्य सम्झौता बल्ल गरेका छौँ। अब सङ्ख्या र मूल्यमा मध्यस्थता गर्ने हो….”
लक्ष्मण अर्याल
सचिव, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
“हामीले खोप किन्ने प्रक्रिया अघि बढाएका छौँ। उहाँहरूसँग वार्ता गरिरहेका छौँ “, सचिव अर्यालले भन्नुभयो।
अहिलेसम्म नेपालमा कोभिशील्ड, भेरो सेल र जोनसन एन्ड जोनसन खोप प्रयोगमा ल्याइएको छ।
जोनसन एन्ड जोनसन खोप एक मात्रा दिए पुग्छ भने अरू खोप दुई मात्रा दिनुपर्छ।
खोप किन्ने रकमको जोहो
स्वास्थ्य सचिव अर्यालका अनुसार सरकारले फाइजर खोपको उत्पादक फाइजर-बायोएनटेकसँग एउटा ‘गोप्य सम्झौता’ गरिसकेको छ।
“अब अर्को चरणमा बल्ल सङ्ख्या र मूल्यमा मध्यस्थता गर्ने हो”, स्वास्थ्य सचिव अर्यालले भन्नुभएकोे छ ।

जोनसन एन्ड जोनसनको खोप :नेपालमा अहिलेसम्म तीनथरी कोभिड खोप प्रयोग गरिएको छ
‘त्यसपछि पूर्वाधार बनाउनुपर्ने कुरा हुन्छ। समय लाग्छ। हामीले भविष्यको कुरा पनि सोचेका हौँ।’
फाइजरसँग खोप खरिद गर्नका लागि विश्व ब्याङ्क र एशियाली विकास ब्याङ्कको ऋण र अनुदान सहयोग परिचालन गरिने तय भएको अधिकारीहरू बताउँछन्।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी आवश्यकताअनुसार विश्व ब्याङ्क वा एशियाली विकास ब्याङ्कबाट अथवा दुवैबाट रकम प्राप्त हुने स्रोत परिचालन गरिनेगरी तयारी अघि बढाइएको बताउँनुभएको छ ।
कोभ्याक्समार्फत् ल्याइने भनिएको खोप पनि नेपालले खरिद गर्ने सचिव अर्यालले जानकारी दिनुभएको छ।
“कोभ्याक्सको अलि सस्तो हुन्छ। सीधा खरिद अलि महँगो हुन्छ”, उहाँले थप्नुभयो।
भण्डारण र वितरणमा चुनौती

न्यूयोर्कस्थित फाइजरको मुख्यालय
हालसम्म विकास भएका कोभिड खोपमा भण्डारण र वितरणका हिसाबले सबैभन्दा चुनौतीपूर्ण खोप फाइजरको रहेको विज्ञहरूको भनाइ छ।
फाइजर खोपलाई निकै कम तापक्रममा राखेर ढुवानी गर्नुपर्ने भएकाले त्यसलाई खोप प्रयोगमा एउटा अवरोधका रूपमा लिइएको थियो।
सुरुमा उक्त खोपलाई माइनस ८० देखि माइनस ६० डिग्री सेल्सीअसमा भण्डारण गर्नुपर्ने आवश्यक ठानिएको थियो।
तर गत फेब्रुअरीमा अमेरिकाले यस खोपको भण्डारण र पारवहनको मापदण्डलाई सुधारेर माइनस १५ देखि माइनस २५ डिग्री सेल्सीअसमा फ्रिजमा दुई सातासम्म राख्न सकिने व्यवस्था स्वीकृत गरेको थियो।
तर त्यस्तो पूर्वाधार नभएको अवस्थामा नेपालले भण्डारण नगरी छिटो छिटो खोप लगाउने नीति लिएको अधिकारी बताउँछन्।
“भण्डारण गर्ने धेरै क्षमता नभए पनि केहीकेही हामीसँग छ”, उहाँले भन्नुभयो।
कोभिडको दोस्रो लहरमा ‘गाह्रो स्थिति उत्पन्न भएको’ र तेस्रो लहरको पनि ‘निकै धेरै सम्भावना रहेको’ अवस्थामा खोप प्राप्तिका सन्दर्भमा ध्यान केन्द्रित गरिएको अधिकारीले जानकारी दिनुभएको छ।
पूर्वाधार थपिँदै
कोरोनाभाइरसविरुद्ध लगाइने खोपमध्ये हालसम्म नेपालमा प्रयोग गरिएका तीनवटै खोप २ देखि ८ डिग्री तापक्रममा राख्न मिल्छ।
विश्वबजारमा विभिन्न तापक्रममा राख्न मिल्ने खोप उपलब्ध भइरहेक बेला नेपालमा पनि माइनस २५ देखि ३० डिग्री तापक्रम सम्ममा राख्न सकिने खोप भण्डारको निर्माण गर्न लागिएको स्वास्थ्य सेवा विभागले जनाएको छ।
अहिले पोलियो खोप राख्नका लागि केन्द्रमा मात्रै त्यस्तो भण्डार रहेको र अब त्यस्तो भौतिक संरचना जिल्लासम्म निर्माण गरिने अधिकारीहरू बताउँछन्।

कोभिड खोप
नेपालमा अहिलेसम्म १४ लाख २३ हजार जनाले पहिलो मात्रा खोप लगाएका छन्
“हामीले माइनस २५ देखि ३० डिग्रीका लागि विस्तारको काम अघि बढाएका छौँ। त्यसले चाहिँ मोडेर्नासम्मका लागि गर्न सकिन्छ। खरिद भएर सामान आउँदैछ”, विभागको खोप व्यवस्थापन समेत हेर्ने परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले भन्नुभयो, “माइनस २५ डिग्रीको खोप नेपालले पाउने भनेको पनि २०२१ को अन्त्य वा २०२२ को सुरुमा हो। त्यस बेलासम्ममा व्यवस्थापन गरिसकेको हुनुपर्छ।”
फाइजरजस्तो खोप खेपखेपमा आपूर्ति गर्न सके एक महिनाभित्रमा ४० लाखसम्म खोप प्रयोग गर्न बाधा नपुग्ने उहाँले जानकारी दिनुभयो।
सरकारले भण्डारणसँगै खोप ढुवानीका लागि आवश्यक पर्ने नौवटा गाडी पनि खरिद गर्न लागेको जनाएको छ।
तीमध्ये दुई वटा सङ्घीय राजधानी काठमाडौंमा र अन्य सात वटा प्रत्येक प्रदेशमा एकएक वटाको दरले राखिने योजना छ।(बीबीसीबाट)


















