Prakash Adhikari July 28, 2021

टोकियो(जापान), १३ साउन । जापानको राजधानी टोकियोमा भैरहेको ३२औं ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आज नेपालकी पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्दै हुनुुहुन्छ।

गौरिकाले महिला १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। गौरिकाको खेल नेपाली समय अनुसार बुधबार दिउँसो ३ : ४५ बजे सुरु हुनेछ।

टोकियो एक्वेटिक सेन्टरमा हुने प्रतिस्पर्धामा गौरिका हिट १ मा पर्नुभएको छ। यस हिटमा ४ खेलाडी छन्। गौरिका रहेको हिटमा नाइजेरिया, मोन्टेनेग्रो र गुवामका खेलाडी हुनुहुन्छ।

गौरिकासहित नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी हुनुभएको छ।

तीमध्ये सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाहले खेलिसक्नुभएको छ।

तीनै जना पराजित भई प्रतियोगिताबाट बाहिरिसक्नुभएको छ। परियारले महिला १० मिटर एयर राइफल, भट्टले महिला ४८ किलो तौल समूह तथा शाहले एक सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नुभएको थियो।

अब पौडीकी गौरिका र एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ। चौधरीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ।

चौधरीले शुक्रबार आ–आफ्नो खेलमा प्रतिस्पर्धा कार्यतालिका रहेको छ।

Share Now

Leave a comment.