काठमाडौं, १४ साउन । अर्थमन्त्रालयले धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई तीन दिनभित्र सत्य,तथ्य र प्रमाणसहित परिवारका सदस्यको नाममा आईपीओ जारी गर्ने प्रक्रियामा रहेको कम्पनीको शेयर खरिदको विषयमा स्पष्टीकरण सोधेको छ ।
मन्त्रालयको वित्तीय व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले बिहिबार उहाँलाई यस्तो स्पष्टीकरण सोधेको हो ।
नेपालमा कम्पनीहरुको धितोपत्रको कारोबार गराउन नियमन निकायको रुपमा स्थापना भएको नेपाल धितोपत्र बोर्ड र धितोपत्रको बजार कारोबार गराउन स्थापित नेपाल स्टक एक्सचेञ्जका प्रमुखहरु दुवैले बुक बिल्डिड. विधिबाट कम्पनीका शेयर सार्वजनिक गर्ने प्रक्रियामा रहेको सर्वोत्तम सिमेण्टको शेयर आफ्ना परिवारका सदस्यका नाममा खरिद गर्नुभएको पत्ता लागेपछि मन्त्रालयल सो स्पष्टीकरण सोधेको हो ।
नियमन निकायको रुपमा रहेको बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले आचारसंहिता र कानून विपरीत सर्वोत्तम सिमेण्टको शेयर आफ्नी छोरी रेविका ढुंगानाको नाममा किन्नुभएको भेटिएको छ ।
उहाँले सर्वोत्तम सिमेन्टको कम्तीमा ११ हजार ९ सय ९२ कित्ता शेयर छोरीको नाममा खरिद गरेको भेटिएको छ।
नेपाल धितोपत्र बोर्डका बोर्ड सदस्यको आचारसंहिता २०७४ मा “बोर्ड सदस्यले आफ्नो कार्यकालमा बोर्डबाट अनुमतिप्राप्त संस्थाको संस्थापक शेयरमा लगानी गर्न तथा आफ्नो कार्यकालमा दोस्रो बजारमा धितोपत्र खरिदबिक्री गर्न हुँदैन” भन्ने स्पष्ट किटानी ब्यवस्था गरेको छ ।

आचारसंहिताले धितोपत्र व्यवसायी, सूचीकृत संगठित संस्था तथा कारोबारमा आफ्नो पद र नाम दुरुपयोग गरी कुनै पनि किसिमको व्यक्तिगत तथा पारिवारिक फाइदा हुने क्रियाकलापमा संलग्न हुन पनि रोकेको छ।
धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले भने धितोपत्र निष्कासनको तयारीमा रहेको सर्वोत्तम सिमेण्टको शेयर अमेरिकामा बसेकी छोरी रेविकाको नाममा किन्नुभएको छ ।
सर्वोत्तम सिमेन्टले ६० लाख कित्ता शेयर बुक बिल्डिङ मार्फत निष्कासन गर्न लागेको छ। सार्वजनिक निष्कासनमा आउने शेयरको मूल्य पूँजी बजारका संस्थागत लगानीकर्तामार्फत अहिलेको बजार मूल्य आँकलन गराई आधार मूल्य तय गरी महंगो दरमा शेयर बेच्ने यस विधिबाट निष्कासन गर्न लागिएको उक्त शेयरको ११ हजार ९ सय १२ कित्ता शेयर रेविकाको नाममा देखिएको छ । ढुंगानाको नाममा गत पौषमा १० हजार कित्ता शेयर हस्तान्तरण भएकोमा आर्थिक वर्ष २०७६ /७७ को १९.१२ प्रतिशत बोनस शेयर थपिएर शेयर संख्या बढेको बताइएको छ।

कम्पनीले आगामी २० साउनमा निष्कासनका लागि अनुमति लिन धितोपत्र बोर्ड समक्ष प्रस्ताव लैजादै छ । शेयर निष्कासनका लागि गत ४ चैतमा कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धकका रूपमा नियुक्त गर्न सम्झौता गरिसकेको छ ।
सर्वोत्तमले आफ्नो कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू.७५० हुने अनुमान गरेको छ । तर मूल्य भने बुक बिल्डिङको प्रक्रियाबाट तय गराउदै छ ।
ढुंगाना २१ पुस २०७६ मा बोर्डको अध्यक्ष हुनुभएको हो भने सर्वोत्तमले २० पुस २०७७ मा रेविकाले उक्त शेयर लिएको बिवरण कम्पनी रजिष्ट्रारको कार्यालयमा पठाएको थियो। यसैले छोरी संस्थापक शेयरहोल्डर भएको दावी गरेर उम्किने अवस्थामा पनि उहाँ हुनुहुन्न ।
यता नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद पनि सर्वोत्तम सिमेण्टको शेयर दबाब दिएर खरिद गरेको आरोपमा मुछिनुभएको छ ।
उहाँले श्रीमती सुशीलाकुमारी बोहराको नाममा १० हजार कित्ता खरिद गर्नुभएको छ । सर्वोत्तम सिमेन्ट लिमिटेडका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले २० पुस २०७७ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा पठाएको विवरणमा यो कुरा उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०७६ । ७७ को बोनस शेयरपछि बोहराको नाममा रहेको शेयर संख्या सेवोनका अध्यक्ष भिष्मराज ढुंगानाकी सुपुत्री रेबिका ढुंगानाको बराबर हुने गरी ११ हजार ९ सय १२ पुगेको छ।
प्रमुख कार्यकारी अधिकृत साउदले प्रतिकित्ता रु।२५० को मूल्यमा सो शेयर खरिद गरिएको दावी गर्नुभएको छ । उहाँले बजार सञ्चालक र त्यसका कर्मचारीहरुले दोस्रो बजारमा मात्रै किनबेच गर्न नमिल्ने जिकिर गर्दै बुक बिल्डिङमार्फत शेयर निष्कासन गर्न लागेको कम्पनीको शेयर लिन नमिल्ने भन्ने व्यवस्था छैन भनेर आफ्नो बचाउ गर्नुभएको छ ।
सर्वोत्तम सिमेन्टले ६० लाख कित्ता शेयर बुक बिल्डिङ मार्फत निष्कासन गर्न लागेको छ।
सर्वोत्तम सिमेन्टले आर्थिक वर्ष २०७६ ।७७ मा रू।७७ करोड ७६ लाख नाफा कमाएको थियो। सोभन्दा अघिल्लो आर्थिक वर्ष यसको नाफा रू।१ अर्ब १७ करोड १७ लाख थियो। अध्यक्ष न्यौपानेका अनुसार, गत आर्थिक वर्ष २०७७।७८ मा यसको खूद नाफा सवा अर्ब हाराहारीमा हुने अनुमान गरिएको छ।
विस्तृत छानवीनको जरुरी
धितोपत्रको कारोबारको बजार उपलब्ध गराउने बजार सञ्चालक स्टक एक्सचेञ्ज र समग्र धितोपत्र बजारको विकास,विस्तार र नियमनको जिम्मेवारी पाएको बोर्डका प्रमुखहरुले आफ्नो पदाधिकारको दवाव र प्रभावको माध्यमबाट शेयर बजारमा अबाञ्छित क्रियाकलाप गरेकोले दुवैको पद धरापमा पर्न गएको देखिएको छ ।
बोर्डका अध्यक्ष ढुंगाना संसदीय समितिले दिएको निर्देशन विपरीत बैंकहरुलाई लाइसेन्स दिनेकाममा विलम्ब गरेर धितोपत्र दलालसंग पैसा खाई तिनलाई शाखा खोल्न दिने र एजेन्ट राख्न दिने उल्टोबाटो लागेकोमा बदनाम हुनुहुन्छ । उहाँले हालै नेप्सेको अधिनमा रहेको धितापत्र दलाल थप्ने अधिकार पनि हस्तक्षेप गरेर बोर्डमा ल्याउने कसरत गर्नुभएको थियो ।
अर्थमन्त्रालयको लगाम नेकपा माओवादी केन्द्रका जब्बर नेता जनार्दन शर्माको हातमा गएकोले राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष अनुकम्पामा नेकपा एमालेको सरकारले नियुक्त गरेको बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र नेपाली कांग्रेस निकट मानिनुहुने चन्द्रप्रकाश साउद दुवैको पद धरापमा परेको छ ।
बोर्ड अध्यक्ष ढुंगाना र नेप्से प्रमुख कार्यकारी अधिकृत साउदले देखाएको दबाव र प्रभावमा राम्रा कम्पनीको शेयर लिने प्रवृत्तिले खराब कम्पनीलाई पनि सूचीकृत गरेर पैसा खाने तथा राम्रा कम्पनीका शेयर आफू र परिवारका नाममा लिएर सूचीकृत हुने अनुमति दिने प्रवृत्तिले दुवै संस्थामा जरो गाडेको देखाउछ ।
यो प्रवृत्ति दुवै संस्थाका प्रमुखमा मात्र रहेको हो वा दुवै संस्थाका विभागीय प्रमुख तथा अनसाइट निरीक्षकहरुमा पनि रहेको छ रुयसका बारेमा गहन छानवीनको जरुरी देखिन्छ ।
यो मन्त्रालयले गर्ने हो वा संसदीय समितिले हेर्ने हो तय नभए पनि दुवै जनाको जागीर साउने भेलमा परेको छ ।


















