खलंगा(दार्चुला), १५ साउन । शुक्रबार बिहान दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित मालघाटमा तुइनबाट नदी तर्ने क्रममा भारतको सशस्त्र सीमा बल(एसएसबी)का सुरक्षाकर्मीले तुइनको डोरी काटिदिंदा महाकाली नदीमा खसेर ३० वर्षीय जयसिंह धामी बेपत्ता भएको विषयमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढ जिल्ला प्रशासनसंग स्पष्टीकरण सोधेको छ ।
दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्टले भारतको पिथौरागढ डीएम कार्यालयलाई पत्रचार गरिएको बताउनुभएको छ।
उहाँले जिल्लाबाट भारततर्फ जाने क्रममा एसएसबीले तुँइनको डोरी खोल्न खोजेपछि पानीले धामीलाई बगाएको भन्ने कुरा आएको छ,’ भट्टले भन्नुभयो, ‘वास्तविक कुर्रा खुलेको छैन । हामीले घटनाको छानबिनका लागि पिथौरागढ डीएम कार्यालयलाई पत्राचार गरेका छौं । घटनाबारे सत्यतथ्य जानकारी गराएर कारबाही अगाडि बढाइदिन पनि आग्रह गरेका छौं ।’
तुइनबाट खसेर बेपत्ता भएका धामीको खोजी भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।
प्रत्यक्षदर्शीहरुले बताएअनुसार तुइनबाट महाकाली नदी पार गरिरहेका धामी नदीको छेउमा नपुर्ग्दै एसएसबीले फलामे डोरी निकालिदिएका थिए ।
त्यो तुइन काट्ने एसएसबी जवानलाई मन्त्री बनाइ दे सरकार..कम से कम नेताहरूको सत्ता र शक्तिको दुर्गन्धित नाटक र नौटङ्की अब उस्ले कहिले हेर्नू पर्दैन,अनि तुइनले हातमा फोका पनि बनाउदैन अनि फेरि एउटा खोप पनि त उबारिदियो जो तिम्रै साली, साढुँदाइलाई हुन्छ …😥😥😥 https://t.co/MVEACEp76T
— Tekraj Magar (@magar_tekraj) July 30, 2021
ब्यास गाउँपालिका–२ का वडाध्यक्ष वीरेन्द्रसिंह बुर्ढाथोकीले बताउनुभए अनुसार धामीसँगै गएका तीन जना तुर्इन तरेर पारि पुगिसकेको देखेर एसएसबीले फलामे डोरी निकालिदिएका रहेछन् । धामी नदीको छेउमा नपुर्ग्दै डोरी निकालिएकोले उहाँ नदीमा खस्नुभएछ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दले एसएबसीले डोरी निकालेपछि धामी नदीमा खसेको गुनासो आएको बताउनुभएको छ ।
‘हामीकहाँ पनि एसएसबीले तुर्इनको डोरी निकाल्दा धामी नदीमा खसेको गुनासो आएको छ,’ प्रहरी निरीक्षक चन्दले भन्नुभएको छ, ‘प्रत्यक्षदर्शीसँग सम्पर्क गर्ने कोशिश भइरहेको छ ।’
यता धामीका आफन्तहरुले जिल्ला प्रशासन कार्यालय दार्चुलामा ज्ञापनपत्र बुर्झाउँदै घटनामा भारतीय एसएबसीको संलग्नताबारे छानबिन गरी कारबाही गर्न र उचित क्षतिपूर्ति दिन माग गर्नुभएको छ ।


















