काठमाडौं, १९ साउन । एक दशक निर्विवाद कप्तानी सम्हालेर नेपाली क्रिकेटलाई उचाईमा पुर्याउने पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गर्नुभएको छ । उहाँले क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी रहने भन्दै आज सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्नुभएको हो ।
उहाँले नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो भन्नुभएको छ । मैदानभित्र दुई दशक रहुन्जेल मीठो यादका रुपमा आफूसँग रहने उल्लेख गर्दै खड्काले नेपाली क्रिकेटलाई सबैले मिलेर नयाँ उचाइमा पु¥याउने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।

“सम्पूर्ण नेपाली क्रिकेट समर्थक र सरोकारवाला प्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लने निर्णय लिएको छु। नेपालका लागि खेल्नु मेरो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो।” खड्काले लेख्नुभएको छ,“२००२ मा १५ वर्ष हुँदा मैले सुरु गरेको क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षकहरु, साथी खेलाडीहरु, प्रशंशकहरु, सरोकारवालाहरु, मिडियाकर्मी, मेरो परिवार र साथीहरु प्रति म सदैव ऋणी रहनेछु।”
पूर्व कप्तान खड्काले भन्नुभएको छ, “क्रिकेटरको रुपमा मैले आफ्नो मन, वचन, कर्मले कर्तव्यनिष्ठ भई देश र नेपाली क्रिकेट जगतको उत्थानको लागि सदैव आफ्नो भूमिका निर्वाह गरें। मेरो जीवनमा मैले देखेको सपना भनेकोनै नेपाली क्रिकेटको उन्नति हो तर यसका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाहरुको संयुक्त प्रयासको आवस्यकता छ। इमान्दारिताका साथ काम गर्ने हो भने हामीले नेपाली क्रिकेटलाई अवश्य पनि एउटा नयाँ उचाइमा पुर्याउनेछौँ।”
उहाँले आफ्नो फेसबुक र ट्वीटरमा लेख्नुभएको छ, “मैदान भित्रका यी दुई दशक, जीवन रहुन्जेल, मिठो यादको रुपमा मसंग रहनेछन्। हामी सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने छौँ भन्ने विश्वास लिएको छु। धन्यवाद ।”
— Paras Khadka (@paras77) August 3, 2021
सन् २००२ मा १५ वर्षको हुँदा आफूले क्रिकेट यात्रा शुरु गरेको उल्लेख गर्दै खड्काले आफ्नो जीवनमा देखेको सपना भनेको नै नेपाली क्रिकेटको उन्नति हो भन्नुभयो ।
नेपालमा क्रिकेटको विकासका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाहरुको संयुक्त प्रयासको आवश्यकता रहेको खड्काको भनाइ छ । यसका लागि सबैमा इमानदारीको खाँचो भएको उहाँले सामाजिक सञ्जालमार्फत उल्लेख गर्नुभएको छ ।
तेत्तिस वर्षीय खड्का सन् २००९ मा नेपाली क्रिकेट टोलीको कप्तान बन्नुभएको थियो । उहाँले सन् २०१९ सम्म कप्तानीको भूमिका निर्वाह गर्नुभयो ।
खड्काले नेपालका लागि १० एकदिवसीय तथा ३३ टी–२० अन्तर्राष्ट्रिय खेल खेल्नुभयो । दायाँहाते ब्याटस्म्यान उहाँले यस क्रममा एकदिवसीयमा ३ सय १५ रन बनाउनुभयो भने टी–२० मा ७ सय ९९ रन बनाउनुभएको थियो ।
दुवै किसिमका प्रतियोगितामा उहाँ शतक प्रहार गर्न सफल हुनुभएको थियो । उहाँले २०१९ मा युएई बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा तथा सोहि वर्ष सिंगापुर बिरुद्ध टी २० अन्तर्राष्ट्रियमा शतक बनाउनुभएको थियो।

खड्काले बलिङसमेत गर्नुभएको थियो ।
उहाँले १० एकदिवसीय खेलमा ९ विकेट लिनुभएको थियो भने ३३ टी–२० खेलमा ८ विकेट लिनुभएको थियो ।
खड्काले अन्तिम पटक नेपाली राष्ट्रिय टिमको लागि गत वर्ष मार्चमा थाइल्याण्डमा आयोजित एसीसी इस्टर्न रिजन टी-२० प्रतियोगिता खेल्नुभएको थियो।
नेपाली क्रिकेट टिमको सर्वाधिक सफल कप्तान पारसको सबैभन्दा ठूलो उपलब्धि नेपाललाई २०१४ टी-२० विश्वकप पुर्याउनु हो। नेपाली सिनियर टिमले पहिलो र अन्तिम पटक विश्वकपमा सहभागिता जनाएको थियो। त्यस बाहेक पारसको कप्तानीमा नेपालले २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पायो। उहाँकै कप्तानीमा नेपालले २०१८ मा नेदरल्याण्डबिरुद्ध पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय श्रृखलामा जित हाँसिल गरेको थियो।
पारसको कप्तानीमा नेपालले सन् २०१० को आईसीसी विश्व क्रिकेट लिग डिभिजन -५, २०१२ को डिभिजन -४, २०१३ र २०१४ को डिभिजन -३ प्रतियोगिताको उपाधि जित्न सफल रह्यो। यस्तै उहाँकै कप्तानीमा २०१२ को एसीसी ट्रफीमा नेपाल युएईसंगै संयुक्तविजेता बन्न सफल भएको थियो।

२०१९ अक्टोबरमा पारसले राष्ट्रिय क्रिकेट टिमको कप्तानीबाट राजीनामा दिनुभएको थियो । त्यसपछि ज्ञानेन्द्र मल्लले नेपालको कप्तानी सम्हालीरहनुभएको छ।
पारसको कप्तानीमा नेपालले २७ वटा टी २० अन्तर्राष्ट्रिय खेल्यो जसमा नेपालले ११ जित र १५ हार बेहोर्यो। यस्तै उहाँले ६ एकदिवसीय अन्तर्राष्ट्रियमा नेतृत्व गर्दा ३ खेलमा नेपालले जित हासिल गर्यो भने ३ खेलमा हार ।
घरेलुलाई भने निरन्तरता
खड्काले घरेलु क्रिकेट खेल्न भने निरन्तरता दिनुहुनेभएको छ। असोज ९ गतेदेखि सुरु हुने चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल टी २० मा बिराटनगर वारियर्सको कप्तानको रुपमा उहाँले खेल्नुहुने भएको छ।
निर्णय अप्रत्यासित : क्यान अध्यक्ष चन्द
नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले पूर्व कप्तान पारस खड्काको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा उपयुक्त समयमा नभएको बताउनुभएको छ ।
क्यानका अध्यक्ष चन्दले सन्यास लिने पारसको निर्णय अप्रत्यासित रहेको भन्दै यस विषयमा क्यानमा छलफल भइरहेको र औपचारिक धारणा आउने बताउनुभयो ।
“पूर्व जानकारी गराएर सन्यास लिएको भए केही फरक परिस्थिति बन्ने थियो, अचानक सन्यास लिनु क्रिकेट र देशका लागि राम्रो भएन”, उहाँले भन्नुभयो ।
अध्यक्ष चन्दका अनुसार पूर्व कप्तान खड्काले आज बिहान करीब साढे ७ बजेतिर इमेल गरेर संन्यास लिन लागेको जानकारी गराउनुभएको थियो ।
उहाँले आइसिसी विश्व क्रिकेट लिग टूका लागि नेपाली राष्ट्रिय टोलीको आज बन्द प्रशिक्षण शुरु गर्ने तयारी रहेको समेत बताउनुभयो ।


















