Prakash Adhikari August 7, 2021

काठमाडां, २३ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र संस्थापन पक्षसंग असन्तुष्ट समूहका नेता माधवकुमार नेपाल समूह पार्टीबाट अलग्गिने संभावना अहिलेलाई लगभग सकिएको छ ।

पार्टीमा रहेका नेपाल समूहका स्थायी समितिको सदस्यको शुक्रबार सम्पन्न बैठकले यस्तो निर्णय लिएको हो । बैठकले पार्टीमा रहेका दुई गुटको समान सहभागितामा बनेको कार्यदलले असार २७ मा तयार पारेको १० बुँदे सहमतिकै आधारमा पाटीलाई एकताबद्ध राख्ने निर्णय लिएको छ।

नेपाल पक्षीय केन्द्रीय कमिटीको दुई दिनदेखि जारी बैठक र स्थायी समितिको बैठक सकिएपछि नेता रघुजी पन्तले भन्नुभयो,”पार्टी एकताका लागि १० बुँदे सहमति भइसकेको छ। त्यसको कार्यान्वयनमा संस्थापन पक्ष इमान्दार हुुनुपर्दछ भन्ने हाम्रोे निष्कर्ष रह््यो ।”

उहाँले पार्टीका वरिष्ठ नेता र अन्यमाथि अनेक प्रकारका टिप्पणी र लाञ्छना लगाउने काम भइरहेकोले त्यसले वातावरण धमिलो बताएको उल्लेख गर्दै भन्नुभयो, “आफ्ना विचार व्यक्त गर्दा पार्टीका सबै नेताहरु जिम्मेवार र संवेदनशील हुनु आवश्यक छ।”

बैठकले पार्टीभित्रको मतभेद हटाउन कुराकानी र वार्ता चलिरहेका बेला सदस्यता नवीकरणसहितका काम गरेर स्थिति प्रतिकूल गराउन खोजिएको भन्दै सो रोक्न पनि अध्यक्ष केपी शर्मा ओली पक्षसँग आग्रह गर्ने निर्णय लिएको छ।

“एकता वार्ता चलिरहेका बेला नवीकरण, पार्टी विभाग पुनर्गठन जस्ता काम रोकिनुपर्छ”, नेता पन्तले भन्नुभयो, “अहिलेसम्म भएका १० बुँदे लगायतका सहमतिले एकताको आधार बनाएका छन्। १० बुँदेलाई कार्यान्वन गर्दै जानुपर्छ। अहिले पनि कुराकानी र वार्ता भइरहेको छ। पार्टीलाई एकतावद्ध बनाउन सजगतासाथ अघि बढ्ने निर्णय हामीले गरेका छौँ। ”

दुई दिन लामो बैठकले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गरेकोमा स्वागत गरेको छ ।

बैठकमा वरिष्ठ नेता नेपालले सम्मानजनक पार्टी एकतामा जोड दिनुभएको थियो । उहाँले पार्टीभित्रका नीति र प्रवृत्तिको आलोचना गर्दा संयमित हुनुपर्ने बताउनुभएको थियो ।

केन्द्रीय कमिटी र स्थायी कमिटीको बैठकले १० बूँदे सहमतीले पार्टीलाई एकताबद्ध राख्ने आधार तयार पारेकोले त्यसमै टेकेर आपसी विश्वास अभिबृद्धि गर्दै पार्टीलाई थप बलियो बनाउनु पर्ने निष्कर्ष निकालेको छ ।

पार्टीभित्रै बसेर वैकल्पिक धारको नेतृत्व गर्ने निर्णय भएकोले नेकपा एमालेबाट वरिष्ठ नेता नेपालसहितका संस्थापन पक्षसंग असन्तुष्ट नेताहरु चोइटिएर अर्को पार्टी खोल्ने वा अन्य दलमा समाहित हुने संभावना हाललाई टरेको छ ।यो संगै नेपाली कांग्रेसका सभापति शेरबहादुुर देउवाको नेतृत्वमा बनेको गठबन्धन सरकार नेपाल समूह आउने संभावना पनि समाप्त भएको छ ।

Share Now

Leave a comment.