काठमाडौं, २५ साउन । कोरोनाविरूद्ध पहिलो मात्रा अस्ट्राजेनिका खोप लगाएका तर दोस्रो मात्रा लगाउन नपाएका नागरिकहरुलाई सरकारले आजदेखि दोस्रो मात्रा खोप लगाउने भएको छ।
पहिलो मात्रामा अक्सफोर्ड अस्ट्राजेनिकाको कोभिशिल्ड खोप लगाएर दोस्रो मात्राको खोपको पर्खाइमा रहेका १४ लाख जना नागरिकलाई सोमबारदेखि यो खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयले बताएको छ।
दोस्रो डोज खोपको पर्खाइमा रहेका ६५ वर्ष र सोभन्दा माथि उमेरका करिब १४ लाख जना नागरिकलाई अस्ट्राजेनिका खोप दिइने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागका निर्देशक तारानाथ पोख्रेल साउन २५ गतेबाट अस्ट्राजेनिका खोप लगाउने अभियान सुरू भएको जानकारी दिनुभएको छ ।
दोस्रो मात्रा दिई बाँकी रहेको खोप भने विभिन्न रोगका बिरामीलाई प्राथमिकतामा राखेर दिइने विभागले जनाएको छ।
सरकारलाई भुटान र जापान सरकारबाट कोभ्याक्स सुविधा अन्तरगत अस्ट्राजेनिका खोप प्राप्त भएको छ ।
दोस्रो मात्रा लगाएर उब्रेको खोप वैदेशिक रोजगारी, अध्ययन र अन्य प्रयोजनका लागि विदेश जाने व्यक्ति, मृगौलाले काम नगरी डायलाईसिस गर्नुपर्ने र गरेका व्यक्ति, अंग प्रत्यारोपण गरेका व्यक्ति तथा अर्बुद रोगका बिरामीलाई प्राथमिकताका साथ दोस्रो मात्रा सुनिश्चित हुने गरी खोप लगाइने जानकारी विभागले दिएको छ।
मन्त्रालयले प्रदेश र सबै जिल्लामा खोप लगाउने व्यवस्था गर्न आग्रह गरेको छ।


















