Prakash Adhikari August 9, 2021

काठमाडौं, २४ साउन । ​पछिल्लो २४ घण्टामा थप ३ हजार ६ सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो अवधिमा १६ हजार ५ सय ९४ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

देशभरका विभिन्न प्रयोगशालामा १० हजार ४ सय ४५ जनाको आरटी–पिसीआर परीक्षण गर्दा दुई हजार ६ सय ९ जनामा सङ्क्रमण पुष्टि भएको छ भने सोही अवधिमा देशका विभिन्न ठाउँमा गरी ६ हजार १ सय ४९ जनाको एन्टिजेन परीक्षण गरिएकोमा १ हजार ४२ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

देशका विभिन्न ठाउँमा २२ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार १ सय १५ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टाभित्र नेपालमा थप १ हजार ७८४ जना कोरोना सङ्क्रमित निको भएका छन् । विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेशनमा रहेका ती सङ्क्रमित सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना सङ्क्रमित भइ निको हुने दर ९३ दशमलव ५ प्रतिशत छ । हालसम्म ६ लाख ७१ हजार ८३ जना सङ्क्रमणमुक्त भएका छन् । त्यसैगरी देशभर ३६ हजार २ सय ८८ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

तीमध्ये ३२ हजार ९ सय ७ होम आइसोलेशनमा छन् भने संस्थागत आइसोलेशनमा ३ हजार ३ सय ८१ जना छन् । सात सय ४१ जना आइसियुमा र १ सय ८६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । देशभर ४ सय ४१ जना क्वारेन्टिनमा रहेका छन् ।

Share Now

Leave a comment.