Prakash Adhikari August 11, 2021

काठमाडौं, २७ साउन । कोभिड महामारीले लामै समय असर पार्ने आकलनका माझ अब शिक्षण सिकाइ तथा परीक्षाबारे वैज्ञानिक विकल्प रोज्न शिक्षाविद् तथा जानकारहरूले सुझाव दिएका छन्।

गत साता कक्षा १० का विद्यार्थीहरूको एसईई परीक्षाको परीक्षाफल पोहोरजस्तै सम्बन्धित विद्यालयहरु गरेको आन्तरिक मूल्याङ्कनका आधारमा गरिँदा थुप्रै कमजोरी भएको औँल्याउँदै आइन्दा त्यसबाट जोगिनुपर्ने उनीहरूको भनाइ छ।

बोर्ड अध्यक्षकै चेतावनी

विद्यालयस्तरीय शिक्षाको परीक्षासम्बन्धी उच्चतम् निकायका अध्यक्षले विगत दुई वर्षमा एसईई परीक्षा व्यवस्थापनमा गम्भीर त्रुटि गरिएकाले त्यसको ठूलो मूल्य राज्यले चुकाउनुपर्ने चेतावनी दिएका छन्।

पहिले पहिले बोर्डले लिने परीक्षामा पूर्णाङ्क वा ४ जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या एकदम थोरै हुने गरेकोमा गएको दुई वर्ष त्यो सङ्ख्या ह्वात्तै बढेकोबारे चर्चा भएपछि उनीहरुको यस्तो चेतावनी आएको हो।

”यदि आन्तरिक मूल्याङ्कनको आधारमा गरिने हो भने पठनपाठनको पहिलो दिनदेखि नै त्यही अनुसार शिक्षकलाई र विद्यार्थीलाई बताइनुपर्थ्यो। पाठ्यक्रममा हुँदै नभएको यस्तो पद्धति पछि राज्यले खोजेर गर्‍यो, त्यो नै गलत छ, बोर्डका अध्यक्ष डा। चन्द्रमणि पौडेलले बीबीसी न्यूज नेपालीलाई भन्नुभयो।

सबै काम परम्परागत हिसाबबाट गर्ने अनि परीक्षाको मुखैमा पुगेपछि आन्तरिक मूल्याङ्कनको बाटो रोज्नु नै नमिल्ने कुरा भएको उहाँले उल्लेख गर्नुभयो।

‘यो दुई वर्षको अन्योलका कारण राज्यले असाध्यै ठूलो मूल्य चुकाउनुपर्नेछ। ३६५ दिन कटेपछि उपल्लो कक्षामा गइहालिन्छ भन्ने आम बुझाइ बन्न सक्छ’, उहाँले भन्नुभयो।

परीक्षा

के भन्छन् शिक्षाविद् ?

सरकारले अपनाएको पद्धतिका कारण नै अहिलेको समस्या उब्जिएको शिक्षाविद् विद्यानाथ कोइराला बताउँनुहुन्छ।

‘निरन्तर मूल्याङ्कन भनिएको छ। तर त्यसलाई नपढाए पनि पास हुने रूपमा बुझियो। नियममा सुधारात्मक कक्षा लिनुपर्ने भनिएको छ त्यो पनि भएन। यसको असर कक्षा १० को परीक्षामा देखियो’, उहाँले भन्नुभयो।

शिक्षा विभागका पूर्वमहानिर्देशक एवं नेपाल सरकारका पूर्वसचिव महाश्रम शर्मा चाहिँ कोरोनाभाइरसको महामारीका बेला अन्य पठनपाठनका गतिविधि प्रभावित हुने अनि परीक्षा मात्र प्रभावित नहुने भनेर सोच्न नसकिने बताउँनुहुन्छ।

‘नियमित पठनपाठन नहुँदा असफल नबनाउने भन्ने कुरा भएको छ। हुन त लेखेर ३ घण्टाको जाँच दिँदा पनि कतिपय राम्रा विद्यार्थीले नसक्ने हुनसक्छ। त्यसैले यसपालि आन्तरिक मूल्याङ्कन गर्दा शिक्षक तथा स्कूल उदार भए भन्ने आधारमै यो बिग्रियो भन्न मिल्दैन। बरु परीक्षा प्रणाली सुधार गर्नेतर्फ हामी लाग्नु पर्छ’,शर्माले बताउनुभयो।

परीक्षा र पठनपाठनलाई एकीकृत ढङ्गले हेरेर समयअनुसार व्यवस्थित गराउन जरुरी भएको उहाँले औँल्याउनुभयो।

त्यसमा थप्दै शिक्षाविद् कोइरालाले आउने केही समयका निम्ति अनुकूल हुनेगरी परीक्षा बोर्डले स्तरीय परीक्षाको मोडल बनाउनुपर्ने, १० कक्षाको जाँचलाई बोर्डको जाँच नबनाईकन सामान्य अन्य कक्षाको जस्तै बनाउनुपर्ने अनि शिक्षकहरूलाई इमानदार र जिम्मेवार बनाउनुपर्ने सुझाव दिनुभएको छ।

राष्ट्रिय परीक्षा बोर्ड

 

विद्यार्थीलाई दोष नदिऔँ

कोरोनाभाइरस महामारीको समयमा आन्तरिक मूल्याङ्कनको आधारमा स्कूलहरूले दिएको अङ्कलाई लिएर विद्यार्थीहरूमाथि प्रश्न उठाउनु अन्यायपूर्ण हुने विज्ञहरूले बताएका छन्।

विद्यानाथ कोइराला भन्नुहुन्छ, ‘बरु उनीहरूलाई अब आवश्यक पर्ने खालका पूर्वाधार कोर्सहरू तयार पारेर पढाउनुपर्छ ताकि उनीहरूमा आत्मविश्वास पनि जागोस् र प्रणालीप्रति सबैको भरोसा होस्।’

यो सम्पूर्ण प्रक्रियाबारे अभिभावकहरू एकदमै चिन्तित बनिरहेको राष्ट्रिय अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले बताउनुभएको छ।

एकथरी अभिभावक आफ्ना छोराछोरीले राम्रो अङ्क ल्याएकोमा मक्ख छन् भने अर्कोथरीलाई गुणस्तरको चिन्ताले पिरोलेको उहाँ सुनाउँनुहुन्छ।

‘बहत्तर सालमा ४ जीपीए ल्याउने दुई जना थिए, ७३ सालमा चार जना थिए, ७४ सालमा ७४ जना भए, ७५ सालमा १०० भन्दा बढी भए भने त्यसपछि ७६ सालको एसईईमा ९,००० अनि ७७ सालको एसईईमा ८,००० जनाले ४ जीपीए ल्याए।’, भण्डारीले भन्नुभयो, ‘यो एकदमै बढेको छ। तर अभिभावकले गरेको मूल्याङ्कन त होइन ।  ‘

उहाँले अब्बल सिकाइ अनि विश्वसनीय मूल्याङ्कन गर्न सबैजना लागिपर्नुपर्ने सुझाव दिनुभएको छ।

(बीबीसी नेपाली न्यूजबाट)

Share Now

Leave a comment.