Prakash Adhikari August 11, 2021

बुटबल (रुपन्देही), २७ साउन । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि प्रदेश सभा सदस्यहरुलाई आह्वान गर्नुभएको छ।

बुधबार सूचना जारी गर्दै २४ घण्टाभित्र सरकार गठनका लागि दललाई आह्वान गर्नुभएको हो।

मुख्यमन्त्री शंकर पोखरेलले आज प्रदेश सभाको विशेष अधिवेशन आरम्भ भएसंगै दिनुभएको राजीनामा स्वीकृत गरेपछि उहाँले अर्को सरकार गठनका लागि आह्वान गर्नुभएको हो।

प्रदेश प्रमुख शेरचनने संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि साउन २८ गते बिहीबार अपरान्ह ३ बजेभित्र दाबी पेश गर्न प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई आह्वान गर्नुभएको हो।

मुख्यमन्त्री पोखरेलले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम मुख्यमन्त्री पदबाट दिएको राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गर्नुभएको थियो ।

बहुमतको सरकार गठन गरे पनि पद परित्यक्त मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभाबाट विश्वासको मत लिनुभएको थिएन ।

आफ्नो पार्टीसंग बहुमत नरहेको र अरु सबै दलहरु गठबन्धनमा सामेल भएकोले बजेट पारित हुने संभावना समेत नदेखेर उहाँले बजेट समेत अध्यादेशबाट ल्याउनुभएको थियो ।

Share Now

Leave a comment.