Prakash Adhikari August 13, 2021

अशोक दाहाल / बीबीसी न्यूज नेपाली
काठमाडौं, २९ साउन । अफगानिस्तानका विभिन्न प्रान्तीय राजधानीहरु तालिबानको कब्जामा गएको र तालिबानमाथि अमेरिकी सेनाबाट ब्यापक हवाइ हमला भैरहेको बेला त्यहा रोगजागीका लागि पुगेका नेपाली भने सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले अफगानिस्तानको बिग्रदो सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै करार सकिएका नेपालीलाई घर फर्कन सुझाव पनि दिएको छ ।

विभिन्न देशले आफ्ना नागरिकलाई अफगानिस्तानबाट फिर्ता बोलाइरहेका बेला नेपालले भने उक्त द्वन्द्वग्रस्त मुलुकमा रहेका नेपाली नागरिकलाई तत्काल फिर्ता बोलाउने अवस्था नआइसकेको बताएको छ।

परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा रहेका नेपाली नागरिकहरूको अवस्था रोजगारदाता एजेन्सी र व्यक्तिगत सम्पर्कसूत्रको माध्यमबाट अध्ययन गरिरहेको बताएको छ।’अफगानिस्तानको अवस्था हामीले नजिकबाट नियालिरहेका छौँ। त्यहाँ रहेका नेपालीहरूलाई अप्ठेरो परेको अवस्थामा उपयुक्त निर्णय लिइने नै छ’, काठमाडौंस्थित परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भन्नुभएको छ।

विदेशी सैनिकहरू अफगानिस्तानबाट फर्किन थालेपछि अहिले तालिबान लडाकुहरूले महत्त्वपूर्ण सहर र स्थानहरू आफ्नो नियन्त्रणमा लिन थालेका छन्। विभिन्न स्थानमा सङ्घर्ष जारी छ।

काबुलमा कहाँ छन् नेपाली ?

अधिकांश नेपालीहरू राजधानी काबुलस्थित कूटनीतिक र सरकारी कार्यालयहरू भएको क्षेत्रमा कार्यरत रहेकाले अहिलेसम्म सुरक्षित रहेको मन्त्रालयले जनाएको छ।

ग्रीन जोन भनिने उक्त क्षेत्रलाई सबैभन्दा सुरक्षित मानिन्छ।

त्यहाँ १०० जनाको हाराहारीमा नेपालीहरू रहेको जानकारी आफूसँग रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। तर काबुलमा हुने नेपालीको सङ्ख्या त्यसभन्दा बढी भएको आकलन गरिएको छ। गत साता ग्रीन जोनमै अफगान रक्षामन्त्रीको घरमा आक्रमण भएपछि त्यहाँ कार्यरत नेपालीहरूमा केही त्रास बढेको हालै काबुलबाट काठमाडौं फर्किएका एक नेपालीले बताउनुभएको छ।

विसं २०७३ सालमा राजधानी काबुलको ग्रीन जोनमा कार्यरत १३ नेपालीको बम हमलामा ज्यान गएपछि सरकारले केही समय अफगानिस्तान जान कडाइ गरेको थियो।

अफगानिस्तान कसरी पुग्छन् नेपाली ?

नयाँ दिल्लीस्थित नेपाली दूतावासले ग्रीन जोनमा काम गर्नका लागि माग भएका कामदारको माग विवरण प्रमाणित गरेर पठाएपछि काठमाडौंस्थित वैदेशिक रोजगार विभागले श्रमस्वीकृति दिने गरेको छ।’सम्बन्धित देश हेर्ने दूतावासबाट माग भएको ठाउँमा कामदार पठाउन ठिक छ भन्ने प्रमाणित भएर आए हामीले श्रमस्वीकृति दिँदै आएका छौँ ‘, विभागका निर्देशक महेन्द्रनाथ भट्टराईले भन्नुभयो।

नयाँ दिल्लीस्थित नेपाली दूतावासका उपप्रमुख (डीसीएम) रामप्रसाद सुवेदीले संयुक्त राष्ट्रसङ्घअन्तर्गतका निकाय र सुरक्षा प्रदान गर्ने कम्पनीहरूमा नेपालीहरू दूतावासको स्वीकृति लिएर जाने गरेको बताए।गत आर्थिक वर्ष मात्रै १ हजार ७३ जनाले त्यहाँ जान श्रमस्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाउँछ।

विभागबाट प्राप्त विवरणअनुसार पछिल्लो पाँच वर्षमा ६ हजार ६ सय जनाभन्दा बढीले अफगानिस्तानमा काम गर्न श्रमस्वीकृति लिएका छन्।

तर स्वीकृति लिएका सबै गए नगएको विवरण भने सरकारी निकायहरूसँग पनि नभएको अधिकारीहरू बताउँछन्।सीधा हवाई सम्पर्क नभएका कारण अफगानिस्तान जाने नेपालीहरूले भारतको मार्ग प्रयोग गर्छन्।

अफगानिस्तानबाट फर्किने नेपाली कामदारहरूको विवरण समेत सरकारी निकायहरूसँग नभएका कारण यति नै सङ्ख्यामा त्यहाँ नेपाली छन् भन्ने तथ्याङ्क पाउन मुस्किल छ।अफगानिस्तानमा नेपालको दूतावास नभएका कारण नयाँदिल्लीस्थित नेपाली दूतावासले अफगानिस्तान मामिला पनि हेर्दै आएको छ।

अफगानिस्तानमा नेपाली कति सुरक्षित ?

श्रम अनुमति लिएर गएका नेपालीहरू राजधानी काबुलमा सुरक्षा घेराभित्रै काम गर्ने भएकाले हालसम्म सुरक्षित नै रहेको दिल्लीस्थित दूतावासले जनाएको छ। बढ्दो हिंसाका कारण त्यहाँ रहेका नेपालीहरू जोखिममुक्त भने नरहेको अधिकारीहरूको बुझाइ छ।’हामीले करार अवधि सकिएका नेपालीहरूलाई सकेसम्म छिट्टै स्वदेश फर्किन आग्रह गरेका छौँ। करार अवधि बाँकी भएकाहरूलाई भने अहिलेसम्म कुनै एड्भाइजरी जारी गरिएको छैन’,दिल्लीस्थित दूतावासका उपप्रमुख सुवेदीले टेलिफोनमा भने।अहिले करार अवधि सकिएका दुई नेपालीले उद्धारको सम्भावनाबारे दूतावाससँग चासो राखेको जानकारी सुवेदीले दिनुभयो।

राजदूतावासका अनुसार उनीहरूलाई नियमित व्यावसायिक उडानबाटै सकेसम्म चाँडो नेपाल फर्किन भनिएको छ। विसं २०७३ सालबाट अफगानिस्तान मामिला हेरिरहेको दिल्लीस्थित दूतावासले परराष्ट्र मन्त्रालयलाई पनि अफगानिस्तानमा रहेका नेपालीको अवस्थाबारे नियमित जानकारी पठाइरहेको जनाएको छ।

बीबीसीले सम्पर्क गरेका दुई नेपालीले रोजगारदाताको अनुशासनका कारण त्यहाँको अवस्थाबारे सञ्चारमाध्यममा बोल्न नमिल्ने बताउनुभएको छ।

के छ अफगानिस्तानको स्थिति ?

कतिपय प्रान्तबाट व्यापारिक उडानहरू बन्द हुन थालेपछि छिमेकी राष्ट्र भारत र चीन दुवैले त्यहाँ रहेका आफ्ना नागरिकहरूलाई स्वदेश फिर्ता हुन भनिरहेका छन्।चीनले गत महिना आफ्ना नागरिकहरूलाई विशेष विमान पठाएर उद्धार गरेको थियो।

भारतले पनि नियमित उडानहरू बन्द हुनुअगावै अफगानिस्तान छोड्न आफ्ना नागरिकलाई आग्रह गरेको छ।

यसअघि अमेरिका र यूकेले अफगानिस्तान छाड्न आफ्ना नागरिकहरूलाई आग्रह गरेको थियो।

गत महिनाको हिंसामा मात्र १ हजार भन्दाबढी सर्वसाधारणको मृत्यु भएको विवरणहरू आएका छन्। तालिबानले केही प्रान्तीय राजधानीलाई आफ्नो नियन्त्रणमा लिइसकेको छ।

Share Now