Prakash Adhikari August 14, 2021

कागेश्वरी (काठमाडौं), ३० साउन । असहाय गाईबाच्छा संरक्षण अभियानले वरिपरि फलामे तारले घेरिएको ठूलो चौरमा एक सय ५३ असहाय गाईबाच्छा जम्मा गरेर पालन पोषण गरेको छ ।

कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित गोठाटारमा रहेको पशुपति क्षेत्र विकास कोषको यो जग्गामा अभियानले सडकमा खुला छाडिएका गाईबाच्छालाई राखेको हो । आज वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री आफैँ एक बोरा पीठो बोकेर पुग्नुभयो ।

विसं २०७५ जेठ १ गते मानव अधिकार, सामाजिक न्याय, वाग्मती सफाइलगायत अभियानमा लाग्नुभएका उत्तम पुडासैनीले सो अभियान सुरुआत गर्नुभएको थियो । सुरुमा त्रिभुवन विमानस्थलसँग जोडिएको वाग्मती नदी किनारको भागमा गाईबाच्छा जम्मा गरिएको थियो । विसं २०७६ चैतमा बन्दाबन्दी जारी गरिएका बेला सडकमा बेवारिसे गाईबाच्छाको सङ्ख्या बढ्न थाल्यो ।

तत्कालीन समयमा कोषले अभियानलाई गौशाला बनाउन चरन क्षेत्रसहित पुग्ने गरी एक सय रोपनी जग्गा मौखिक सहमतिका आधारमा उपलब्ध गरायो । त्यहाँ हाल सडकमा छोडेपछि दुर्घटनामा परेका, कुकुर लगायतले लखेटेर घाउ बनाएका, विभिन्न रोग लागेर सडकमै ढलेका गाईलाई संरक्षण गरिएको छ । गाई संरक्षण अभियानमा केही स्वयंसेवी निरन्तर रुपमा खटिँदै आउनुभएको छ ।

विभिन्न उदारमना व्यक्तित्वले गर्नुभएको सहयोगले यो अभियान टिकेको छ । अभियानमा मन्त्री फुयाँलले आज बिहानै आफैँ गाईका लागि पीठो बोकेर पुग्नुभएको हो । संरक्षणस्थलमा केही बेर उहाँले श्रमदान पनि गर्नुभयो । गौशाला परिसरको सो जग्गामा उहाँले पीपलको रूखसमेत रोप्नुभएको छ । गौशाला परिसरमा उहाँले राष्ट्रिय झण्डाको झण्डोत्तोलन पनि गर्नुभयो ।

अभियानलाई उहाँले २०७५ साल जेठमै आधा महिनाको तलब दिएर सहयोग गर्नुभएको थियो । यसले असहाय गाईबाच्छा संरक्षणलाई बीज स्रोतको काम गरेको अभियानकर्मी पुडासैनी बताउनुहुन्छ । असहाय गाईबाच्छा संरक्षणका लागि वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका तर्फबाट भौतिक पूर्वाधार निर्माण गर्ने गरी रु १० लाख बजेट विनियोजन गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिकाले पनि असहाय गाईबाच्छा संरक्षण अभियानका लागि रु २५ लाख बजेट विनियोजन गरिएकाले त्यसलाई व्यवस्थापन गरेर काम गर्न पनि उहाँले सुझाव दिनुभयो ।

आजै कागेश्वरी मनोहरा नगरपालिकाका कानुनी सल्लाहकार विदुर ढुङ्गानाले पनि रु सात हजार सहयोग गर्नुभएको छ । पछिल्लो समय जन्मदिनमा असहाय गाईबाच्छालाई पीठो, दाना, घाँस वा नगद नै दिएर सहयोग गर्नेको सङ्ख्या बढ्न थालेको अभियानकर्मी पुडासैनीले सुनाउनुभयो । यस्तो अभियानमा गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपालसहित सयौँ व्यक्तित्व सहभागी भइसक्नुभएको छ ।

अभियानकर्मी आफ्ना व्यक्तिगत काम छोडेर असहाय गाईबाच्छा संरक्षण कर्ममा जुटेका छन् । वडा सदस्य अष्टलाल श्रेष्ठ स्थानीय सरकारले गर्नुपर्ने काम अभियानकर्मीबाट भएको बताउनुहुन्छ । यस्तो अभियानलाई स्थानीय सरकारले निरन्तर सक्ने सहयोग गर्ने उहाँको भनाइ छ ।

अभियानले सो स्थलमा पाँच सय गाईबाच्छालाई संरक्षण गर्न सक्ने संरचना निर्माण गरिरहेको छ । घाइते गाईबाच्छालाई उपचारका लागि छुट्टै उपचारस्थलको समेत निर्माण हुँदैछ । असहाय गाईबाच्छाको संरक्षणसँगै कम्पोष्ट मल उत्पादन पनि सुरु गरिँदै छ । यहाँ उत्पादन गरिने कम्पोष्ट मल बजार मूल्यभन्दा आधामै उपलब्ध गराइने अभियानकर्मी पुडासैनीले जानकारी दिनुभयो ।

अभियानले कुहिने फोहोरलाई कम्पोष्ट बनाउन प्रयोग गर्ने जनाएको छ । नकुहिने प्लाष्टिक जस्ता फोहोरलाई बोतलमा राखेर इँटा बनाउने अभियान सुरु भएको छ । गाईबाच्छा संरक्षण स्थलमा आउँदा फालिने प्लाष्टिकका झोलाहरु पनि सङ्कलन गरेर बुझाउने सकिनेछ । घरघरमा पनि प्लाष्टिकका झोला जम्मा गरेर अभियानलाई उपलब्ध गराउन अभियानकर्मी पुडासैनीले आह्वान गर्नुभएको छ । सडकमा फालिएका प्लाष्टिक पनि टिपेर अभियानलाई दिन सकिनेछ ।

असहाय गाईबाच्छा संरक्षण स्थललाई गौधामका रुपमा विकास गरेर वैदिक सनातन हिन्दू धर्मावलम्बीको दर्शनीय स्थलका रुपमा विकास गरिने लक्ष्यसमेत अभियानले अघि सारेको छ । गाईलाई गौमाताका रुपमा पूजा गर्ने संस्कृति बोकेको समाजमा गाईबाच्छालाई बेसहारा बनाएर मर्न बाध्य बनाइनु पाप भएकाले अभियानकर्मीहरु यस महायज्ञमा जुट्नुभएको हो ।

गौधाम वरपरको भागमा टिम्बुर, फलफूललगायत जडीबुटी रोपण अभियान पनि सुरु भएको छ । गाईसँगै औषधिजन्य वनस्पति रोपेर जडीबुटीका क्षेत्रमा समेत काम गर्न लागिएको हो ।

अभियानसँग जनावर उद्धार गर्ने एम्बुलेन्स नहुँदा खरिपाटीमा बूढीगाई घाइते भएको खबर पाएर पनि केही गर्न नसक्दा रातभर सुत्न नसकिएको अभियानकर्मी पुडासैनी गुनासो गर्नुहुन्छ । यसैगरी तीनथानामा पनि तीन बाच्छा घाइते भएको खबर आए पनि एम्बुलेन्सको अभावमा ठाउँ भएर पनि अभियानले केही गर्न सकेको छैन । यसैगरी त्रिभुवन विमानस्थल नजिकै यसअघि असहाय गाईबाच्छा संरक्षण गरिराखिएको स्थलमा पनि मानिसले ल्याएर तीन बाच्छा छोडेकामा कुकुर लगायतले घाइते बनाएका छन् । एम्बुलेन्स अभावले यिनको पनि उद्धार हुन सकेको छैन ।

Share Now

Leave a comment.