धनगढी(कैलाली), १२ फागुन । धनगढीमा भैरहको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा पूर्वाञ्चल र विभागीय टोली एएफपी फाइनलमा पुगेका छन् ।
शनिबार आयोजित दुईवटा सेमिफाइनल खेलमा पूर्वाञ्चलले मध्यमाञ्चललाई ५३ रनले तथा एपीएफले सुदुर-पश्चिमाञ्चललाई ८१ रनले पराजित गरेका हुन् ।
पहिलो सेमिफाइनलमा पूर्वाञ्चल विजयी
राष्ट्रिय क्रिकेट टिमकी सदस्य समेत रहेकी काजोल श्रेष्ठले ५५ रन बनाएपछि टस जितेर पहिले ब्याटिंग गरेको पूर्वाञ्चलले २० ओभरमा २ विकेट गुमाउदै १ सय १९ रनको योगफल तयार पारेको थियो ।
यस्तै अप्सरी बेगमले ३२ रन बनाउदै तेस्रो विकेटको लागि काजोलसँग मिलेर ८६ रनको साझेदारी गरेकी थिईन। कप्तान रुबिना क्षेत्रीले पनि अविजित १४ रन बनाईन।
जवाफमा रुबिना क्षेत्रीले ४ ओभरमा १ मेडन राख्दै ६ रन खर्चेर ३ विकेट लिएपछि मध्यमाञ्चलले २० ओभरमा सबै विकेट गुमाउदै मात्र ६६ रन बनाउन सक्यो। मध्यमाञ्चलका लागि कन्चन श्रेष्ठले २१ र सीता श्रेष्ठले १७ रन बनाएपनि जितको लागि पर्याप्त हुन सकेन।
प्लेयर अफ द म्याच पुर्वान्चलकि काजोल श्रेष्ठ घोषित भईन् ।
दोश्रो सेमिफाइनलमा एपीएफ विजयी
आजै भएको दोश्रो सेमिफाइनलमा राष्ट्रिय क्रिकेट टिमकि अनुभवी खेलाडी समेत रहेकी सीता रानामगरले ५१, सरिता मगरले ३७ र ज्योति पाण्डेयले १८ रन बनाएपछि एपीएफले २० ओभरमा ४ विकेट गुमाएर १ सय ३१ रनको योगफल तयार पारेको थियो ।
जवाफमा सीता मगर र करुण भण्डारीले समान ३र३ विकेट लिएपछि सुदूर पश्चिमाञ्चलले १९ ओभरमा सबै विकेट गुमाउदै मात्र ५५ रन बनायो।
यस्तै एपीएफकी अञ्जली चन्दले २ विकेट हात पारिन्। सुदूरपश्चिमका लागि निशा भट्टले ११ रन बनाउन बाहेक अरुले दोहोरो अंक छुन सकेनन्।
खेलको प्लेयर अफ द म्याच सिता राना मगर भईन्।
फाईनल खेल आइतबार फाप्ला क्रिकेट मैदानमा हुनेछ ।
प्रतियोगिताको विजेताले पाँच लाख तथा उप–विजेताले दुई लाख रुपैया पुरस्कार प्राप्त गर्नेछन्।