Prakash Adhikari August 16, 2021

 

काबुल(अफगानिस्तान), ३२ साउन(बीबीसी) । अफगानिस्तानको राजधानी काबुलमा नियन्त्रण कायम गरेपछि तालिबानले लडाइँ सकिएको दाबी गरेको छ।

काबुलस्थित अन्तर्राष्ट्रिय विमास्थलमा पश्चिमी शक्तिराष्ट्रका दूतावासका कर्मचारी र नागरिकहरूलाई आफ्नो देश फर्किन आतुर अवस्थामा बसेका खबरहरू आएका छन्।

अमेरिकाले त्यहाँ कुल ६ हजार सेना पठाउँदै छ। तीमध्ये आधाभन्दा बढी काबुल पुगिसकेका छन्।

काबुलबाट कैयौँ अफगानहरू घर छाडेर भागिरहेको खबर आइरहेका बेला त्यहाँका राष्ट्रपति पनि आइतवार विदेश पलायन हुनुभएको छ।

कहाँ जानुभयो राष्ट्रपति ?

देश छाडेपछि अफगान राष्ट्रपति अशरफ गनी कहाँ जानुभयो भन्ने चासो सर्वत्र देखिएको छ।

त्यस्तै त्यहाँका उपराष्ट्रपति अमिरुल्लाह सालेहले पनि काबुल छाडेको बताइएको छ।

सुरुमा राष्ट्रपति गनी भागेर ताजिकिस्तान गएको बताइएको थियो।

तर पछि अल जजिरा टेलिभिजनले उहाँ उज्बेकिस्तानको राजधानी तासकन्द पुगेको समाचार प्रसारित गर्‍यो।

अल जजिराका अनुसार राष्ट्रपति घानी, उहाँकी पत्नी, सेना प्रमुख र राष्ट्रिय सुरक्षा सल्लाहकार तासकन्द पुग्नुभएको हो।

अल जजिराले राष्ट्रपतिका निजी सुरक्षा गार्डलाई उद्धृत गर्दै यस्तो समाचार दिए पनि त्यसको स्वतन्त्र पुष्टि भएको छैन।

देश छाडेपछि राष्ट्रपतिको भनाई

यसैबीच एउटा फेसबुक पोस्टमा अफगान नागरिकहरूलाई सम्बोधन गर्दै घानीले काबुल छाड्नु आफ्ना लागि एउटा कठिन फैसला भएको बताउनुभएको छ।

उहाँले रक्तपात रोक्नका लागि उक्त निर्णय लिएको भन्दै स्पष्टीकरण दिनुभएको छ।

उहाँले आफू काबुलमा रहँदा रहँदै तालिबान काबुल आइपुग्दा झडप हुन्थ्यो र त्यसले लाखौँ मानिसको ज्यान खतरामा पर्न सक्थ्यो भन्नुभएको छ।

घानीले फेसबुक पोस्टमा लेख्नुभएको छ, “आज मैले एउटा कठिन निर्णय गर्नुपर्ने थियो। तालिबान (राष्ट्रपति भवन) मा आउन चाहन्थे, उनीहरूसामू उभिऔँ वा आफ्नो प्यारो देश जसको सुरक्षार्थ विगतका २० वर्ष मैले आफ्नो जीवन समर्पण गरेँ त्यसलाई छौडौँ ?”

अशरफ गनी

अशरफ घानी

“त्यस क्रममा अनगिन्ती मानिसहरू मारिन्थे र हामीले काबुल सहरको विध्वंश देख्नुपर्थ्यो, त्यसबाट ६० लाख जनसङ्ख्या भएको सहरमा ठूलो मानवीय त्रासदी उत्पन्न हुन्थ्यो।”

उहाँले तालिबानले हतियारको बलमा विजय हासिल गरेको लेख्नुभएको छ।

त्यस्तै उहाँले अब अफगानहरूको इमान, सम्पत्ति तथा आत्मसम्मानको रक्षाको जिम्मा तालिबानको भएको बताउनुभएको छ।

उहाँले लेख्नुभएको छ, “तर उनीहरूले मन जित्न सक्दैनन्। इतिहासमा कहिल्यै पनि कसैलाई पनि शक्तिले मात्र यो हक प्राप्त भएको छैन र मिल्ने पनि छैन। अब उनीहरूले एउटा ऐतिहासिक परीक्षाको सामाना गर्नुपर्नेछ।”

तालिबानसँगको वार्ताको नेतृत्व गरेका अब्दुल्लाह अब्दुल्लाहले घानी देशबाट पलायन भएको आइतवार नै पुष्टि गर्नुभएको थियो।

उहाँले फेसबुकमा एउटा भिडिओ पोस्ट गर्दै घानीको आलोचना गर्नुभएको थियो।

अशरफ गनी

अशरफ गनी

अशरफ घानीको परिचय

अशरफ गनी दुई पटक अफगानिस्तानका राष्ट्रपति निर्वाचित हुनुभयो।

उहाँ पहिलो पटक सन् २०१४ मा र दोस्रो पटक २०१९ मा राष्ट्रपति बन्नुभयो। उहाँ देशका चर्चित शिक्षाविद् हुनुहुन्थ्यो।

घानीले आफ्नो जीवनको अधिकतम समय देशबाहिर नै बिताउनुभएको थियो।

अफगानिस्तानमा तालिबान सत्ता गएपछि र केही वर्षको युद्धपश्चात् उहाँ स्वदेश फर्कनुभएको थियो।

राष्ट्रपति पद सम्हालेपछि उनलाई एकदमै इमानदार व्यक्तिका रूपमा चित्रित गरिएको थियो। तर चाँडै उहाँलाई क्रुद्ध व्यक्तिका रूपमा पनि चिन्न थालियो।

उहाँ अफगानिस्तानका बहुसङ्ख्यक पाश्तुन समुदायका व्यक्ति हुनुहुन्छ।

उहाँलाई तालिबानले सधैँ अमेरिकाको कठपुतलीका रूपमा चित्रित गर्ने गरेको छ।

Share Now

Leave a comment.