काठमाडौं, ३२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले अफगानिस्तानमा सुरक्षा र उद्धारको प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय गर्ने र अभिभावकत्व लिने जानकारीदिनुभएको छ । उहाँले आज बिहान ट्वीट गर्दै सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निर्वाह गर्ने दृढता व्यक्त गर्नुभयो ।
प्रधानमन्त्रीले अफगानिस्तानमा रहेका नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यकावस्थामा उद्धार प्रबन्ध मिलाउन आइतबार नै निर्देशन दिइएको पनि बताउनुभएको छ ।
अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्वार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको छु l
सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो l सजगता र गम्भीरतापुर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ l
— Sher Bahadur Deuba (@SherBDeuba) August 16, 2021
अफगानिस्तानको राजधानी काबुलमा रहेको राष्ट्रपति कार्यालय बिद्रोही तालिवानीले कब्जा गरेपछि त्यहाँँ रहेका विदेशी धमाधम स्वदेश फर्किन थालेका छन् भने अप्ठ्यारामा परेका आफ्ना नागरिकलाई विभिन्न देशले उद्धार गरी स्वदेश फर्काइरहेका छन् ।


















