काठमाडौं, ३२ साउन । नेपालमा थप ३ हजार ४ सय ५१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र ३५ जनाको कोभिड १९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या ८ लाख १० हजार नाघेको छ भने मृतकको सङ्ख्या १० हजार ३ सय २७ पुगेको छ।
सोमवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार विगत २४ घण्टामा १५ हजार ६ सय ११ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।
तीमध्ये ५ हजार ५ सय १८ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।
अहिले कुल परीक्षणको १९. ५ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ।
मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा २ हजार ४ सय ५८ जना सङ्क्रमणमुक्त भएका छन्।
सङ्क्रमितमध्ये ३६ हजारभन्दा बढी घरमा तथा ३ हजार ३ सय ३५ जना संस्थागत आइसोलेशनमा छन्।
अहिले ७ सय ९५ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १ सय९७ जना भेन्टिलेटरमा छन्।
कतिले लगाए खोप ?
अहिलेसम्म पूर्ण मात्रामा खोप लगाउनेहरूको सङ्ख्या ३४ लाख ९० हजार नाघेको मन्त्रालयले जनाएको छ।
अक्सफर्ड(आस्ट्राजेनेकाले बनाएको खोप, चीनमा निर्मित भेरो सेल र जोनसन एन्ड जोनसनको ज्यान्सेन खोप नेपाल आएका छन्।
जोनसन एन्ड जोनसन खोप एक मात्रा मात्र लगाए पुग्छ भने आस्ट्राजेनेका तथा भेरो सेलको दुई मात्रा लगाउनुपर्छ।


















