Prakash Adhikari August 18, 2021

काठमाडौं, २ भाद्र । मुलुकमा विकसित तीव्र राजनीतिक घट्नाका बीचमा तराई मधेश केन्द्रित जनता समाजवादी पार्टी पनि बिभाजित भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार राजनीतिक दलहरु विभाजन गर्न सजिलो हुने गरी सरकारले सिफारिस गरेको अध्यादेश जारी गर्नुभएको केही घण्टाभित्रै जसपा पनि विभाजन भएको हो ।

बुधबार जारी अध्यादेशमा केन्द्रीय समितिका २० प्रतिशत वा संसदीय दलका २० प्रतिशत सांसदहरुले अलग्गै पार्टी गठन गर्ने निवेदन दिएमा निर्वाचन आयोगले मान्यता दिनुपर्ने प्रावधान रहेको छ ।

लामो समयदेखि पार्टीभित्र एकापसमा कारबाही, राजनीतिक मुद्दाहरुमा फरक मत र पार्टीको आधिकारिकताका लागि भएको चरम विवादका बीचमा जसपा विभाजन भएको हो । एक बर्ष अगाडि एकीकरण भएर बनेको जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको नेतृत्वमा आज जसपा (लोकतान्त्रिक) पार्टीले दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएसंगै सो पार्टी विभाजित भएको हो ।

नवगठित पार्टीको अध्यक्षमा महन्थ ठाकुर रहनुभएको छ भने वरिष्ठ नेतामा राजेन्द्र महतो रहनुभएको छ ।

यस्तै २४ जनाको कार्यकारिणी समिति बनाइएको छ भने २४ जनामध्येबाट छिट्टै पदाधिकारी गठन गरिने बताइएको छ ।

नयाँ पार्टीमा प्रतिनिधि र राष्ट्रिय सभाका गरी १५ सांसद रहेको पनि महतोले बताउनुभयो । नयाँ पार्टीको चुनाव चिन्ह साइकल कायम गरिएको छ।

Share Now

Leave a comment.