काठमाडौं, ५ भाद्र । पपुवा न्यु गिनीसंग एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका दुई खेल तथा ओमान र अमेरिकासंग हुने विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय श्रृखलाको लागि १७ सदस्यीय नेपाली क्रिकेट टिमको घोषणा भएको छ।
ज्ञानेन्द्र मल्लको कप्तानी रहने नेपाली टोलीमा दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, विनोद भण्डारी , करन केसी, सन्दिप लामिछाने, सोमपाल कामी, अविनाश बोहरा, सुशन भारी, शरद भेसावकर , विक्रम सोब, पवन सर्राफ, रोहित पौडेल र गुलशन झा रहेका छन् ।
ओमानमा हुने दुवै श्रृखला नेपालले सेप्टेम्बर ५ र ८ तारिखमा पपुवा न्यु गिनीसंग दुई वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नेछ । त्यसमध्ये दोश्रो खेल दिवा रात्री ( डे-नाइट ) हुने बताइएको छ।
नेपालले पहिलो पटक दिवा-रात्री एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो।
त्यस लगत्तै सेप्टेम्बर १३ देखि २० तारिखसम्म नेपाली टोलीले ओमानसंग र अमेरिकासंग त्रिकोणात्मक सिरिज खेल्ने भएको छ।
प्रतियोगिताको लागि नेपाली टोली भदौ ८ गते मंगलबार बिहान (अगस्ट २४ तारिखमा ) ओमान प्रस्थान गर्ने भएको छ ।
नेपाल क्रिकेट संघले घोषित गरेको १७ सदस्यीय टोलीमा बन्द प्रशिक्षणमा राखिएको १९ जना मध्ये दुई खेलाडी पेसर कमल सिंह ऐरी र देब्रे हाते स्पिनर शाहब आलम अहिले बाहिर परेका छन् ।
टोलीमा उदीयमान गुल्सन झाले पहिलो पटक मौका पाएका छन्। झाले मार्चमा सम्पन्न काठमाडौँ मेयर्स कपमा शशस्त्र प्रहरी बल (एपीएफ) बिरुद्ध फाइनल खेलमा ३६ रन खर्चेर ४ विकेट लिएका थिए।
दायाँ हाते तिब्र गति बलर बिक्रम सोबले पनि टोलीमा पुनरागमन गरेका छन्। सोबले यो वर्ष प्रधानमन्त्री कप र काठमाडौँ मेयर्स कपमा गरेको बलिंग प्रशंसायोग्य थियो । सोब २०१६ को विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्याण्ड भ्रमणमा नेपाली टिममा थिए। तर अन्तिम ११ मा भने मौका पाएनन्। उनले २०१५ नोभेम्बरमा युएईमा भएकोे हंगकंगसंगको दुई दिवसीय खेलमा अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए। त्यसै भ्रमणमा ओमन बिरुद्ध एकदिवसीयमा उनले डेब्यु गरेका थिए। त्यसपछि उनले राष्ट्रिय टिममा स्थान पाएका थिएनन्।
यस्तै टिममा पहिलो पटक एकदिवसिय टिममा कुशल भुर्तेल, आसिफ शेखले पनि मौका पाएका छन्। तीन जना खेलाडीले यो वर्ष अप्रिलमा नेदरल्याण्डबिरुद्ध टिट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए भने एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका छैनन्।
कुशल र आसिफले उक्त सिरिजमा ओपनिंग ब्याटिंग गर्दै थुप्रै कीर्तिमान बनाएका थिए जसले विश्वकप लिग २ मा पनि ओपनिंगको जिम्मेवारी पाउन सक्ने सम्भावना छ।
विश्वकप लिग २ अंकतालिकामा नेपाल ४ खेलमा २ जित र २ हार पछि छैठौं स्थानमा रहेको छ। विश्वकप लिग २ अन्तर्गत नेपालले अझै ३२ वटा खेलहरु खेल्न बाँकी रहेको छ।
विश्वकप लिग २ अन्तर्गत नेपालले यस अघि पहिलो सिरिज पनि ओमान र अमेरिकासंग घरेलु भूमिमा गत वर्ष फेब्रुअरीमा खेलेको थियो। त्यस पछि कोभिड १९ का कारण नेपालले खेल्ने विश्वकप लिग २ अन्तर्गतको सिरिज स्थगित हुँदै आएको थियो।
उक्त सिरिजमा नेपालले दुवै खेलमा अमेरिकालाई पराजित गर्दा ओमनासंग भने दुवै खेलमा पराजित भएको थियो।
विश्वकप लिग २ अंकतालिकाको शीर्ष ३ स्थानमा रहन सके नेपालले सन् भारतमा आयोजना हुने २०२३ एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता खेल्न पाउनेछ भने अर्को साइकलको लागि विश्वकप सुपर लिगमा समेत छनोट हुनेछ।
विश्वकप लिग २ को शीर्ष ३ स्थानमा पर्न असफल भए २०२२ विश्वकप छनोट प्लेअफमा नेपालले विश्वकप छनोट प्रतियोगिता पुग्ने अर्को मौका पाउनेछ।


















