काबुल (अफगानिस्तान), ६ भाद्र(बीबीसी) । एक अफगान महिलाले उद्धारका लागि परिचालन गरिएको अमेरिकी उडानका क्रममा जर्मनीमा बच्चा जन्माएकी छन्।
आइतवार सामाजिक सञ्जाल ट्विटरमा यूएस एअर मोबिलिटी कमान्डले ती महिला आफ्नो परिवारसँग मध्यपूर्वबाट यात्रा गरिरहेका बेला प्रसव पीडा सुरु भएको जनाएको छ।
गर्भवती महिलाको अवस्था जटिल हुँदै गएपछि विमानका कमान्डरले विमानमा हावाको चाप बढाउनका लागि उडानको उचाइ कम गर्ने निर्णय गरे जसले उनलाई स्थिर बनाउन र आमाको ज्यान बचाउन मद्दत गर्यो।ू
जर्मनीमा विमान अवतरण हुने बित्तिकै अमेरिकी सैन्य चिकित्सकहरूको टोली आइपुग्यो र बच्चा जन्माउन सहयोग गर्यो।
बच्चा र आमा दुवैको अवस्था राम्रो रहेको र उनीहरूलाई नजिकैको अस्पतालमा लगिएको बताइएको छ।
तालिबानले नियन्त्रणमा लिएको काबुलको अवस्था अस्थिर रहेको बताइएको छ।
यूकेको रक्षा मन्त्रालयले अफगानिस्तान छोडेर भाग्न चाहनेहरूको सङ्ख्या बढेसँगै विमानस्थल बाहिर भएको भिडभाडमा ७ जना अफगानको मृत्यु भएको जनाएको छ।
“त्यहाँको वस्तुस्थिति निकै चुनौतीपूर्ण छ तर हामी स्थितिलाई सकेसम्म सुरक्षित रूपमा व्यवस्थापन गर्न सक्दो प्रयास गरिरहेका छौँ “, एक प्रवक्ताले विज्ञप्तिमार्फत् भनेका छन्।
उद्धारमा जुटेका विमानहरूको सुरक्षार्थ काबुलस्थित हामिद कार्जाई अन्तर्राष्ट्रिय विमानस्थल ४ हजार ५ सय अमेरिकी सैनिकको अस्थायी पकडमा छ।
त्यहाँ ब्रिटेनका पनि ९ सय सेना परिचालित छन्।
तालिबान लडाकुहरूले विमानस्थल वरपरका स्थानहरूमा चेकजाँच गरिरहेका छन् र यात्रासम्बन्धी कागजात नभएका अफगानहरूलाई विमानस्थल जानबाट रोकिरहेका छन्।


















