Prakash Adhikari August 23, 2021

काठमाडौँ, ७ भाद्र । पार्टीभित्र एकता कायम गर्न गठित कार्यदलले सुझाएको सहमति प्रस्ताव अनुसारको कदम चाल्न नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीले पार्टीको स्थायी कमिटीको बैठक तुल्सीलाल अमात्य प्रतिष्ठानमा राखेको दिन प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफूपक्षीय मुख्य नेताहरुलाई चन्द्रागिरी हिल्स रिसोर्टमा लगेर राख्नु हुने भएको छ ।

नेता नेपालले नयाँ पार्टीको भावि रणनीति तय गर्ने भन्दै सो रिसोर्टमा आवासीय कार्यक्रम गर्न कोठा बुक गराउनुभएको छ। नवगठित नेकपा(एकीकृत समाजवादी) पार्टीका एक नेताले दिनुभएको जानकारी अनुसार करिब १ सय जना अट्ने गरी रिसोर्ट बुक गरिएको छ।

एक नेताले दिनुभएको जानकारी अनुसार नयाँ पार्टीको बिषयमा अब कसरी अगाडि बढ्ने भन्ने बिषयमा छलफल गर्न   यहाँ बस्न लागिएको हो । माधव नेपाल पनि यहीँ आइसक्नुभएको छ।”

नयाँ पार्टीको गठन र विकासको लागि प्रतिबद्धता जनाइसक्नुभएका नेताहरुलाई नेकपा एमालेका नेताहरुले लोभ,लालच,डर,धाक,धम्की र अपहरणबाट अलग राख्न एक दिन पूर्व नै सुरक्षित स्थान रोजिएको बताएको छ ।

प्रधानमन्त्री ओलीको प्रतिगमनकारी संसद विघटनविरुद्धको सडक आन्दोलन, कानूनी लडाई र संसद पुनस्थापनाको कदमसम्म साथ दिंदै आउनुभएका नेताहरुमध्ये पार्टी एकता कायम राख्न गठित कार्यदलमा पर्नुभएका र केही मध्यमार्गी छवि देखाउन इच्छुक नेताहरु एमाले अध्यक्ष ओलीलाई आफूहरुको सुझाव बमोजिमको कदम चाल्न सहमत गराउन सफल हुनुभएको छ ।

उहाँहरुले सोमबार गाइजात्राको दिन अध्यक्ष केपी शर्मा ओलीलाई विवाद समाधान कार्यदलले गरेको १० बुँदे सहमतिलाई कार्यान्वयन गरेर अघि बढ्न प्रतिबद्ध गराउनुभएको छ ।

अध्यक्ष ओलीले नयाँ पार्टीमा आवद्ध नभएका नेताहरू उपस्थित हुनेगरी भोलि ११ बजेको लागि स्थायी कमिटी बैठक बोलाउनुभएको छ।

आफूतिर आएका नेता तथा सांसदहरुलाई निर्वाचन आयोगको सनाखतसम्म सुरक्षित राख्न नेपाल पक्षले नेपाल राष्ट्र निर्माता पृथ्वीनारायण शाहले उपत्यकामा नजर लगाएको चन्द्रागिरीको चुचुरो चयन गर्नुभएको बताइन्छ ।

चन्द्रागिरी नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री के.पी. शर्मा ओलीको पनि प्रेरणा लिने स्थान हो । केही दिन पहिले उहाँले त्यही बसेर साहित्य सिर्जना पनि गर्नुभएको थियो ।

नेकपा एमालेलाई विभाजित गरेर नेकपा एकीकृत समाजवादी पार्टीको गठन गरी निर्वाचन आयोगमा पार्टी समेत दर्ता गरिसक्नु भएका नेता नेपाललाई आयोगले ९ गते बुधबार पार्टी सनाखतको लागि बोलाएको छ ।

नेता नेपालले आफू निकट नेताहरूलाई मंगलबार रिर्सोटमा राखेर बुधबारबिहान भालेश्वर महादेवको दर्शन गराई आशिर्वाद लिई त्यतैबाट सनाखतको लागि निर्वाचन आयोग लैजाने हुनुभएको छ ।

Share Now

Leave a comment.