Prakash Adhikari August 25, 2021

काठमाडौं, ९ भाद्र । माधव नेपाल र महन्थ ठाकुरको नयाँ पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएको छ ।

आज अपरान्ह दुवै दलको केन्द्रीय कार्यसमिति र संसदीय दलमा रहेका सांसदहरुको सनाखत गरेपछि आयोगले साँझ दुवै दललाई मान्यता दिएको हो ।

निर्वाचत आयोगले नेता नेपाल तथा ठाकुरले हालै गठन गरी दलको वैधानिक मान्यता पाउन दिनुभएको निवेदन उपर आवश्यक छानवीन गरी अलग्गिएर आउनु पूर्वको पार्टीको केन्द्रीय कार्य समिति र संसदीय दलका पदाधिकारी तथा सदस्यहरुको संख्या अध्यादेशद्धारा ल्याइएको संशोधित ऐन बमोजिम २० प्रतिशत रहे नरहेको बुझेर नयाँ दलमा आवद्ध केन्द्रीय सदस्य तथा सांसदहरुको सनाखत गरेको थियो ।

सनाखत सकिएपछि आयोगले के.पी. ओली अध्यक्ष रहको नेकपा एमालेबाट अलग्गिएर सोही दलका वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा बनेको नेकपा (एकीकृत समाजवादी) लाई १६६ नम्बरको दर्ता प्रमाण पत्र दिएको छ ।जसपाबाट अलग्गिएर बनेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई १६७ दर्ता नम्बर दिइएको छ ।

नवगठित नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयको ठेगाना नयाँ बानेश्वर राखिएको छ । प्रमाण पत्रको ब्यहोरामा लेखिएको छ, ”  नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी नामक राजनीति दलबाट छुट्टिई बनेको नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) नामक राजनीतिक दललाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३(दोस्रो संशोधन अध्यादेश २०७८)को दफा ३३ बमोजिम निर्वाचन आयोगमा दर्ता गर्ने गरी आयोगबाट मिति २०७८।०५।०९ मा निर्णय भएकोले यो प्रमाणपत्र दिइएको छ ।”

नवगठित लोकतान्त्रिक समाजवादी पार्टीलाई दिइएको प्रमाणपत्रमा जनता समाजवादीबाट छुट्टिई बनेको उल्लेख गरिएको छ । यो पार्टीको केन्द्रीय कार्यालय बबरमहल राखिएको छ । अरु ब्यहोरा नेकपा (एकीकृत समाजवादी)लाई दिइएको प्रमाणपत्रसंग मिल्दोजुल्दो छ ।

प्रमाण पत्रमा आयोगका सचिव सुरेश अधिकारीले हस्तााक्षर गर्नुभएको छ ।

तात्कालीन प्रधानमन्त्री के.पी.शर्मा ओलीले दुईदुईपटक प्रतिनिधिसभा विघटन गर्नुभएपछि ती असंवैधानिक कदमलाई सच्याउन सडक आन्दोलन र कानूनी लडाईमा साथ दिने संविधान पक्षधरहरु राजनीतिक शक्तिलाई राज्य सञ्चालनमा सहभागी गराउने उद्देश्यले सर्वोच्च अदालतको फैसला अनुरुप प्रधानमन्त्री नियुक्त हुनुभएका शेरबहादुर देउवाको सररकारले भाद्र १ गते राजनीतिक दलहरुको विभाजनलाई सहज पार्ने अध्यादेश ल्याउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको थियो । राष्ट्रपति भण्डारीले भाद्र २ गते बुधबार सोही अध्यादेश जारी गर्नुभएको थियो ।

अध्यादेश जारी भए लगत्तै नेकपा एमालेभित्र संविधानको रक्षार्थ उभिनुभएका नेता माधवकुमार नेपालको नेतृत्वलाई स्वीकार गर्ने केन्द्रीय सदस्य र सांसदहरुले नयाँ दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिनुभएको थियो ।

त्यस्तै जनता समाजवादी पार्टीमा रहेको र पूर्ववर्ती नेकपा एमालेका अध्यक्ष के.पी.ओल्किो सरकारको समर्थनमा देखिएको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षधर केन्द्रीय कार्य समितिका सदस्य र संघीय संसदका सांसदहरुले पनि नयाँ पार्टी गठन गरी त्यसलाई मान्यता दिन निर्वाचन आयोगमा निवेदन दिनुभएको थियो ।

निर्वाचन आयोगले दुवै प्रस्तावित नयाँ दल स्थापना गर्न अग्रसर नेताहरु संलग्न हुनुभएको पूर्वराजनीतिक दलको केन्द्रीय कार्यसमिति र संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरुको नामावली संकलन गरी आवश्यक कागजात भिडाई आज नयाँ दलमा रहनुभएका पदाधिकारी र सदस्यहरुको सनाखत गरेपछि नयाँ दलको प्रमाणपत्र दिएको हो ।

Share Now

Leave a comment.