Prakash Adhikari August 26, 2021

विराटनगर(मोरड.), १० भाद्र । राजधानी काठमाडौंमा नेकपा एमालेको विभाजनले औपचारिकता पाएको भोलिपल्ट प्रदेश नं १ को सरकार परिवर्तन भएको छ ।

आजै बिहान प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसमक्ष पदबाट राजिनामा दिनुभयो । त्यस लगत्तै बसेको नेकपा एमाले प्रदेश संसदीय दलको बैठकले भीम आचार्यलाई प्रदेश संसदीय दलको नेतामा चयन गर्यो र उहाँलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुभयो । उहाँकै नेतृत्वमा प्रदेश प्रमुख प्यासीले नयाँ सरकार गठन गरी शपथ समेत ग्रहण गराउनुभएको छ ।

आफ्नो कार्यशैलीसंग असहमति राख्दै आउनुभएका पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा गठित नेकपा(एकीकृत समाजवादी) पार्टीले निर्वाचन आयोगबाट मान्यता पाएपछि विभाजनको रोगबाट प्रदेश सरकारलाई जोगाउन एमाले अध्यक्ष के.पी.शर्मा ओलीले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई राजिनामा गर्न लगाएर सो स्थानमा भीम आचार्यलाई नियुक्त गर्न आदेश दिनुभएको थियो ।

ओलीको कदमले नेकपा एमालेबाट छुट्टिएर नेकपा(एकीकृत समाजवादी ) मा जाने संभाब्य सूचीमा पर्नुभएका भीम आचार्य अब नेकपा एमाले छोड्न नसक्ने स्थितिमा पुग्नुभएको छ ।

प्रदेश १ मा हाल ९२ जना सांसद छन्। सरकार बनाउन ४७ जना सांसद आवश्यक पर्दछ। मालेसँग ५१ सांसद छन्। तर, नेता नेपाल समूहले साथ छोड्नासाथ आचार्य नेतृत्वका सरकारको बहुमत गुम्ने निश्चित हुन्छ।

नेकपा एमालेबाट अलग्गिएर नेकपा एकीकृत समाजवादी पार्टी गठन गर्ने तयारी भएको सुइँको पाउनासाथ नेकपा एमाले अध्यक्ष के.पी.शर्मा ओलीले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई राजिनामा दिन लगाई सो स्थानमा आफूसंग चरम विमति राख्दै पार्टी फोर्ने स्थितिमा अन्तिम धक्का दिन अग्रसर वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय अष्टलक्ष्मी शाक्यलाई प्रदेशको मुख्यमन्त्री नियुक्त गराउन निर्देशन दिनुभएको थियो ।

उहाँको निर्देशन अनुरुप बागमतिमा एमालेकै उपाध्यक्ष अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री हुनुभएको छ । पछि उहाँले नेकपा एकीकृत समाजवादी रोज्नु नै भयो भने पनि हाललाई बागमती नेकपा एमालेको सरकार बनेको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री शाक्य र प्रदेश १ का मुख्यमन्त्री आचार्य दुवै नेपाल पक्षधर मानिनुहुन्छ ।

 

 

Share Now

Leave a comment.