काठमाडौं, १० भाद्र । निर्वाचन आयोगबाट बुधबार(हिजो)मात्र आधिकारिक मान्यता प्राप्त गरेको कम्युनिष्ट नेता माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का नेताहरुले आफ्नो पार्टी क्रान्तिकारी र राजनीतिक संस्कारयुक्त जनमुखी पार्टी हुने दावी गर्नुभएको छ ।
नयाँ दल दर्तापश्चात् बिहीवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष नेपालले आफूहरूको पार्टी केपी ओलीले नेतृत्व गरेको नेकपा एमाले भन्दा अलग र फरक हुने बताउनुभयो।
“जुन हिसाबको संस्कार, जुन किसिमको परिपाटी केपी ओलीले स्थापित गर्न खोज्नुभएको छ त्यो भन्दा नितान्त भिन्न हुनेछ, यो क्रान्तिकारी संस्कारयुक्त पार्टी हुनेछ,” आफ्नो नयाँ पार्टीबारे नेपालले भन्नुभयो।
केपी ओलीले पार्टीलाई निजी कम्पनी ठानेर आफूहरूलाई निष्कासन गरेपछि नयाँ पार्टी गठन गर्न बाध्य भएको नेपालको भनाइ थियो।
माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
आफूलाई कतिपय सहयोद्धाले साथ नदिए पनि उनीहरूप्रति गुनासो नरहेको भन्दै एकीकृत समाजवादी गठन गरेका नेपालले आफ्नो साथ छोडेकाहरू जनताको चाहना र समयको माग अनुसार अघि बढ्न नसकेको आरोप लगाउनुभयो।
‘साथ छोडेका पुनः जोडिन सक्छन्’
अहिले साथ छोडेकाहरू पनि आफ्नो पार्टीमा पुनस् जोडिन सक्ने उनको भनाइ थियो। तर आफूहरू पुरानो पार्टीमा नफर्कने नेपालले बताउनुभयो।
“विद्रोही चेत र आँटका साथ हामी अघि बढेका छौँ, हामी पुरानो लिकमा जाँदैनौँ। पुरानो बाटो पछ्याउँदैनौँ,” अध्यक्ष नेपालले भन्नुभयो।
तर एमालेभित्र नयाँ परिस्थिति सिर्जना भए एमालेसँग पनि एकता गर्न आफूहरू सधैँ तयार रहने नेपालको भनाइ थियो।
केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्छ भन्ने आफूहरूको सर्वसम्मत धारणा रहेको र त्यसका लागि अन्य दलहरूसँग समेत सहकार्य गरिएको नेपालले बताउनुभयो।
“अग्रगमनका बाधक केपी ओलीलाई नपन्छाएसम्म नेपालको राजनीतिक सहज अघि बढ्न सक्दैन भन्ने त्यस बेलाको एमालेको विद्रोही धारको केन्द्रीय कमिटी र स्थायी समितिको साझा निष्कर्ष थियो,”उहाँले भन्नुभयो।
महाधिवेशनमा झिनो मत अन्तरले मात्रै निर्वाचित भएका ओलीले पार्टीमा गुटबन्दी गरेको र फरक मत राख्नेलाई अप्ठेरोमा पारेको नेपालको आरोप छ।
‘सङ्घीयताबारे प्रतिबद्ध छौँ’
नवगठित एकीकृत समाजवादीका अध्यक्ष नेपालले आफ्नो पार्टी सङ्घीयता, संविधान धर्मनिरपेक्षता र समावेशी जस्ता नयाँ संविधानका व्यवस्थाप्रति प्रतिबद्ध रहेका बताएका छन्।
“जनताको सहभागिता बढाउने र जनताले लाभ प्राप्त गर्ने कुराको सुनिश्चितता गर्नका लागि धेरै नियम कानुनमा परिमार्जन गर्नुपर्ने आवश्यकता हुनसक्छ तर सङ्घीयताको मूल्य र मान्यतालाई हामी समाप्त पार्ने छैनौँ,” नेपालले भन्नुभयो।
पत्रकारहरूले राखेको जिज्ञासामा उनले अमेरिकी अनुदान सहयोग सम्झौता एमसीसीलाई परिमार्जन गरेर नेपालको हितमा प्रयोग गर्ने पक्षमा आफ्नो दल रहेको बताउनुभएको छ।
समाजवादको नेपाली मोडेलबारे सोच अघि सार्ने र समाजवादको यात्रामा अघि बढ्ने योजना रहे पनि कम्युनिस्ट आदर्श आफ्नो दलले नछोड्ने नेपालले बताउनुभयो।
माधवकुमार नेपाल
नेकपा एमालेको स्थापनामा आफ्नो योगदानबारे चर्चा गरेका नेपालले एमालेको सम्पत्तिमा आफूहरूले कानुनी दाबी गर्ने बताउनुभयो।
आगामी दिनमा सरकारमा रहेका वा सरकार बाहिर रहेका वामपन्थी लोकतान्त्रिक शक्तिसँग आफ्नो दलको सहकार्य हुने एकीकृत समाजवादीले जनाएको छ।
नेकपा एमालेबाट विभाजन भएर बनेको नेपाल नेतृत्वको एकीकृत समाजवादी दल बुधवार निर्वाचन आयोगमा दर्ता भएको थियो।
एमालेजस्तै मार्क्सवाद लेनिनवादलाई नै आफ्नो आदर्श सिद्धान्त बनाएको एकीकृत समाजवादीले पत्रकार सम्मेलनमा प्रयोग गरेको ब्यानरमा पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी र मदन भण्डारीको तस्बिर प्रयोग गरिएको थियो।(बीबीसीबाट)


















